कैलाली–कञ्चनपुरका सिमसारमा हिउँदे पाहुना चराको आगमन

सार्थक ब्यूरो ।जाडो याम सुरु भएसँगै सुदूरपश्चिमका सिमसार क्षेत्रहरूमा हिउँदे आगन्तुक चराहरू आइपुग्न थालेका छन्। उत्तरी ध्रुव र मध्य एशियाका चिसा भूभागहरूबाट तातो स्थान खोज्दै आउने यी जलपक्षीहरू अहिले कैलाली र कञ्चनपुरका सिमसार क्षेत्रमा देखिन थालेका हुन्।
चराविद् हिरुलाल डङ्गौराका अनुसार, साइबेरिया, मंगोलिया, रसिया लगायतका देशहरूमा हिउँद सुरु भएसँगै अत्यधिक चिसो, हिउँ र खानाको अभावका कारण यी चराहरू दक्षिणतर्फको तुलनात्मक रूपमा न्यानो स्थानमा बसाइँ सर्छन्। नेपालका सिमसार र जलाशयहरू तिनका लागि अस्थायी आश्रयस्थल बन्ने गरेका छन्।
कैलालीको घोडाघोडी ताल, कर्णाली नदीको तल्लो तट, जाखोर ताल र कोइलही तालमा अहिले दर्जनौं प्रजातिका हिउँदे चराहरूको गतिविधि बढेको छ। त्यस्तै कञ्चनपुरको बेलौरीस्थित पुरैनी ताल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विभिन्न तालतलैयाँमा पनि आगन्तुक पक्षीहरूको उपस्थितिले वातावरण जीवन्त बनेको छ।
“अक्टोबर महिनाको सुरुवातदेखि नै चराहरू यहाँका सिमसारमा आउन थालेका हुन्,” डङ्गौराले भने, “यी चराहरू करिब छदेखि सात महिनासम्म यही क्षेत्रमा बस्ने गर्छन्।”
यस वर्ष पनि मालक हाँस, हरियो टाउके हाँस, कालीजुरे हाँस, खरखरे हाँस, कल हाँस, ठुलो जलेवा, चखेवा, सुइरेपुच्छ्रे हाँस र श्वेताँखीभौं जस्ता चराहरू देखिएका छन्। यी आगन्तुक पक्षीहरूको आगमनले सिमसार क्षेत्रहरूमा रौनक थपिएको स्थानीयले बताएका छन्।
नदीनाला र तालतलैयामा चराहरूको आवाजले वातावरण गुन्जायमान भएको छ। हरेक वर्षझैं यसपटक पनि आगामी मार्च–अप्रिलतिर यी पाहुना चराहरू पुनः आफ्ना मूल थातथलोतर्फ फर्कने अपेक्षा गरिएको छ।
वन विभाग र चराविज्ञहरूको टोलीले हिउँदे आगन्तुक चराको गणना कार्य पनि यही मौसममा गर्ने तयारी गरेको जनाएको छ। हिउँदे चराहरूको आगमनले जैविक विविधता संरक्षण र सिमसार पर्यटन दुवैलाई सशक्त बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित