सार्थक ब्यूरो।जेन–जी आन्दोलनका ती तनावपूर्ण दिनहरूमा प्रहरी संगठनका उच्चदेखि तल्लो तहका सबै अधिकारीहरू फिल्डमै खटिएका थिए । २३ र २४ भदौमा देशभर फैलिएको अशान्त वातावरणका बिचमा प्रहरी जवानदेखि आइजीपीसम्म आफ्ना जिम्मेवारीको लाइनमै उभिइरहेका थिए भन्ने जानकारी उच्चस्तरीय जाँचबुझ आयोगलाई पठाइएको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगले ती दिनहरूमा कहाँ–कसरी प्रहरी खटिएका थिए भन्ने विवरण मागेपछि प्रहरी प्रधान कार्यालयले औपचारिक जवाफ पठाएको हो ।
प्रहरी स्रोतका अनुसार, त्यस दिन देशका प्रायः सबै जिल्लामा आन्दोलन चर्किएको थियो । आईजीपी चन्द्रकुवेर खापुङको नेतृत्वमा प्रहरी निकायले प्रत्येक क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको थियो । “त्यो बेला सुरक्षाकर्मीहरू जनताको ज्यान र सम्पत्ति जोगाउन आफ्नो व्यक्तिगत सुरक्षासम्म बिर्सिएर खटिएका थिए,” प्रहरी स्रोतले भन्यो ।
आयोगले बारम्बार ताकेता गरेपछि मात्रै प्रहरी प्रधान कार्यालयले जवाफ पठाएको थियो । त्यसमा ‘सबै प्रहरी फिल्डमै थिए, कुनै एक व्यक्तिलाई दोष दिन मिल्दैन’ भन्ने उल्लेख गरिएको छ । आयोगले पुनः विस्तृत विवरण माग्दै आईजीपीलाई पत्र लेखेको थियो ।
त्यसपछि १६ कात्तिकमा काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई निर्देशन दिइयो — घटनाका बेला जिम्मेवारीमा रहेका इन्चार्जहरूले तत्काल उपत्यका नछाडोस् । अहिले प्रहरी हेडक्वार्टरले आयोगलाई थप विवरण पठाइसकेको बताइएको छ ।
ती घटनाहरूले सुरक्षाकर्मी र नागरिक दुबैको मनमा गहिरो घाउ छोडेको छ । आन्दोलनको तीव्रता र त्यसको प्रतिक्रियाबीच पनि धेरै सुरक्षाकर्मीले आफ्नो कर्तव्य निभाउँदै मानवीय संवेदना हराउन नदिने प्रयास गरेको प्रहरी अधिकारीहरूको भनाइ छ ।


















Discussion about this post