सार्थक ब्यूरो ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा किसानहरू प्राङ्गारिक मलको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रबाट सहुलियत दरमा उपलब्ध प्राङ्गारिक मल प्रयोग गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा समेत उल्लेख्य सुधार आएको किसानहरूले बताएका छन्।
उक्त केन्द्रमा रहेका पशुचौपायाबाट उत्पादन हुने मल किसानलाई प्रतिट्याक्टर चार हजार पाँच सय रूपैयाँमा वितरण गरिँदै आएको वडाध्यक्ष रमेशबहादुर ऐरले जानकारी दिए। उनका अनुसार रासायनिक मलको दीर्घकालीन असरबारे किसानलाई सचेत गराउँदै प्राङ्गारिक मलको उपयोग बढाउन निरन्तर अभियान सञ्चालन भइरहेको छ।
“रासायनिक मलले माटोको जीवन शक्ति घटाउँछ, जबकि प्राङ्गारिक मलले दीर्घकालीन रूपमा माटोलाई पुनः सशक्त बनाउँछ,” ऐरले भने। हाल केन्द्रमा १५ देखि २० ट्याक्टरसम्म मल मौज्दात रहेको र पराल उपलब्ध गराउने किसानलाई निःशुल्क मल वितरणको व्यवस्था गरिएको उनले बताए। “एक ट्याक्टर पराल ल्याउने किसानलाई सोही परिमाणको मल निःशुल्क उपलब्ध गराइन्छ,” उनले थपे।
मल बिक्रीबाट प्राप्त आम्दानी नगरपालिकाको सञ्चित कोषमा जम्मा गरी पूर्वाधार विकासमा लगानी गरिने पनि ऐरले जानकारी दिए। नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि स्थापना गरेको सो केन्द्रमा हाल करिब चार सय पशुचौपाया रहेका छन्, जसको हेरचाह, चारो, औषधोपचार लगायत खर्च नगरपालिकाले बेहोर्दै आएको छ।
प्राङ्गारिक मलको प्रयोगपछि बालीको गुणस्तर र उत्पादनमा सुधार देखिएको किसानहरू बताउँछन्। आलुखेतीमा संलग्न किसान लालबहादुर ऐरका अनुसार “प्राङ्गारिक मल प्रयोग गरेपछि माटो फेरी जीवन्त भएको महसुस भएको” छ। पाँच बिघा क्षेत्रफलमा गरिएको आलुखेतीमा उत्पादन अघिल्ला वर्षभन्दा बढेको उनले बताए।
त्यस्तै, किसान भागिराम चौधरीले भने, “पहिले रासायनिक मलले बाली छिटो हुर्कन्थ्यो तर माटो थकित बन्थ्यो। अहिले प्राङ्गारिक मल प्रयोग गरेपछि माटो पुनः सजीव भएको महसुस गर्छौँ।”
नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढा ऐरका अनुसार प्राङ्गारिक मलले माटोको उर्वराशक्ति मात्र होइन, वातावरण र मानव स्वास्थ्यमा पनि सकारात्मक असर पारिरहेको छ। उनका अनुसार नगरपालिकाले रासायनिक मलको प्रयोग घटाउँदै वातावरणमैत्री कृषि प्रणालीलाई दीर्घकालीन अभियानका रूपमा अगाडि बढाउने नीति लिएको छ।


















Discussion about this post