सार्थक ब्यूरो ।त्रिदेशीय महत्व बोकेको सेती लोकमार्ग निर्माण सुरु भएको १६ वर्ष बितिसक्दा पनि काम सुस्त गतिमा अघि बढेको छ। ३५९ किलोमिटर लामो यो राजमार्गमध्ये हालसम्म केवल २१२ किलोमिटरमा मात्र ट्र्याक खोल्ने काम सम्पन्न भएको छ।
कैलालीको टीकापुरदेखि बझाङको ताक्लाकोटसम्म जोड्ने सेती लोकमार्गलाई दुई खण्डमा विभाजन गरिएको छ—दक्षिण खण्ड र उत्तर खण्ड। दक्षिण खण्डले कैलाली, डोटी, अछाम र बाजुरा समेट्छ भने उत्तर खण्ड बझाङ क्षेत्र केन्द्रित छ।
अछामको साँफेबगर र बझाङको चैनपुरमा छुट्टाछुट्टै योजना कार्यालय स्थापना गरेर काम अघि बढाइँदै आएको हो। सेती राजमार्ग (दक्षिण खण्ड) का सूचना अधिकारी इन्जिनियर केशवदत्त मिश्रका अनुसार दक्षिणतर्फको २०४ किलोमिटरमध्ये १३६ किलोमिटरमा ट्र्याक खोलिसकिएको छ। कैलालीको टीकापुरदेखि खिमडीसम्मको ७२ किलोमिटर र अछामको ८० किलोमिटरमध्ये ५८ किलोमिटरमा ट्र्याक खोलिएको छ। तर डोटीको ४० किलोमिटरमध्ये केवल ६ किलोमिटरमा काम भएको छ, बाजुरामा भने काम सुरु नै हुन सकेको छैन।
मिश्रका अनुसार डोटीमा रुख फँडानीमा दुई वर्ष ढिलाइ हुनु र बाजुराको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा ईआईए प्रक्रिया पूरा नहुनु मुख्य कारण बनेका छन्। उनका शब्दमा, “डोटीमा कानुनी प्रक्रिया कुर्नुपर्यो, बाजुरामा वातावरणीय स्वीकृति नपाएर काम रोकिएको छ।”
राजमार्ग निर्माणको काम आव २०६६/०६७ मा सुरु भएको हो। सुरुमा महेन्द्रनगर सडक डिभिजनले कामको जिम्मा लिएको थियो भने २०७४/०७५ पछि छुट्टाछुट्टै योजना कार्यालय बनाएर काम अघि बढाइएको हो। पछिल्ला वर्षमा केही प्रगतिका संकेत देखिए पनि समग्र निर्माण गति अत्यन्तै सुस्त छ।
सेती राजमार्ग दक्षिण खण्डका योजना प्रमुख रामकुमार देवका अनुसार टीकापुरदेखि खिमडीसम्मको खण्ड हिउँदमा सवारीसाधन चलाउन सक्ने अवस्थामा पुगेको छ। तर बजेटको कमीले काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। उनका अनुसार राजमार्गको अनुमानित लागत १६ अर्ब रुपैयाँ भए पनि चालु आर्थिक वर्षमा २५ करोड मात्रै विनियोजन भएको छ।
“स्रोत र बजेट दुवै अभाव छन्,” देवले बताए, “यस्तो स्थिति रहिरहे कालोपत्रे गर्न अझै धेरै वर्ष लाग्नेछ।”
राजमार्गमा पर्ने विभिन्न नदी–खोलामा पुल निर्माण पनि ढिलो गतिमा भइरहेको छ। झाप्री खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने कुईरे र काँडा खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ। तर ठूलीगाड र सेती नदीमा पुल निर्माण प्रक्रिया सुरु नै हुन सकेको छैन।
उत्तर खण्डको कुरा गर्दा, योजना प्रमुख बिरेन्द्रकुमार यादवका अनुसार १५५ किलोमिटरमध्ये हालसम्म ७६ किलोमिटरमा ट्र्याक खोलिएको छ। बझाङको चैनपुरदेखि ताक्लाकोटसम्मको क्षेत्रमा चट्टानी भूगोलका कारण काम निकै कठिन बनेको छ। यादवले भने, “भौगोलिक कठिनाइ र स्रोतको अभाव दुवै कारणले गति सुस्त छ, तर प्रयास जारी छ।”
सेती लोकमार्गको अवधारणा वि.सं. २०४२ मै तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अघि सारेका थिए। यद्यपि, चार पटक प्रधानमन्त्री बने पनि उनले आफैं यो आयोजना सुरु गर्न सकेनन्। २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा सरकारले पहिलोपटक बजेट विनियोजन गर्दै निर्माण औपचारिक रूपमा सुरु गर्यो।
पूर्व राष्ट्रिय योजना आयोग सदस्य डा. प्रेमबहादुर कुँवरका अनुसार राजमार्ग निर्माण सुरु गर्न तत्कालीन अर्थमन्त्रीसँग समेत बहस गर्नुपरेको थियो। “राज्यको प्राथमिकतामा नपरेकाले सुरुका वर्षमा धेरै संघर्ष गर्नुपर्यो,” उनले बताए।
यो राजमार्गले कैलाली, डोटी, अछाम, बाजुरा र बझाङका धार्मिक तथा पर्यटनस्थलहरू जोड्नेछ। साथै, भारत र चीनबीचको व्यापारिक मार्गका रूपमा यसको रणनीतिक महत्व पनि अत्यधिक छ। हिन्दू धर्मावलम्बीका लागि आस्थाको केन्द्र कैलाश मानसरोवर पुग्ने छोटो स्थलमार्गका रूपमा सेती लोकमार्गको उपयोगिता बढ्ने देखिन्छ।
तर निर्माणमा भएको ढिलासुस्तीले स्थानीयवासी निराश भएका छन्। मोहन्याल गाउँपालिका–२ का तिलक थापा भन्छन्, “१२ वर्षको उमेरमा यो सडकको कुरा सुनेको थिएँ, अहिले ३७ वर्ष पुग्दा पनि सपना अधुरो छ।”
स्थानीयहरू भन्छन्, राजमार्ग निर्माण सम्पन्न भएपछि सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाका बासिन्दालाई तराई झर्न सजिलो हुनेछ। युवानेता रंग अधिकारीका अनुसार “सेती लोकमार्ग पुरा भए अछाम, बाजुरा र बझाङका जनताका लागि विकास र पहुँचको नयाँ बाटो खुल्नेछ।”


















Discussion about this post