महेन्द्रनगर नगर विकास समितिको जमिन काण्डमा पूर्व अध्यक्ष पल्टु राना जेल चलान

सार्थक ब्यूरो । महेन्द्रनगरस्थित तत्कालीन नगर विकास समितिको जमिन हिनामिना प्रकरणमा संलग्न आरोपित पूर्व अध्यक्ष पल्टु राना पक्राउ परेर कारागार चलान भएका छन्।विशेष अदालतले तोकेको सजाय कार्यान्वयन नहुँदा प्रहरीले उनलाई सोमबार लालझाडी गाउँपालिका–५ देखतभूलीबाट नियन्त्रणमा लिएको हो।
कञ्चनपुर प्रहरीका अनुसार भ्रष्टाचार आरोपमा अदालतले ५ वर्ष ११ महिना २६ दिन कैद र ८५ लाखभन्दा बढी जरिवाना फैसला गरे पनि रानाले सजाय नतिरेकाले पुरक कारबाही थालिएको हो। मंगलबार पक्राउ परेका रानालाई बुधबार पुरपक्षका लागि कञ्चनपुर कारागार भेजिएको प्रहरी प्रवक्ता सागर बोहराले जानकारी दिए।
राना महेन्द्रनगर नगर विकास समितिको अध्यक्ष पदमा रहेर सार्वजनिक जमिन मनपरी ढंगले व्यक्तिलाई हस्तान्तरण गरेको आरोपमा दोषी ठहर भएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिका तत्कालीन पदाधिकारी, कर्मचारी र विभिन्न व्यक्तिमाथि सरकारी जग्गा अवैध रूपमा बिक्री र लिजमा दिएको आरोपसहित २०७९ मा एकै दिन चार वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो।
विशेष अदालतको पछिल्लो फैसलाले तत्कालीन अध्यक्षहरू पल्टु राना, गोपाल रसाइली, पुष्कल चौधरी र कान्तुराम पनेरुसहित नगर विकास र मालपोत–नापी कार्यालयका ३७ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ। विभिन्न मुद्दामा अध्यक्षहरूलाई २ वर्षसम्म कैद र लाखौं रुपैयाँ दामासाही जरिवाना तोकिएको अदालतले जनाएको छ। केही मुद्दामा कर्मचारीहरूलाई डेढ वर्ष कैदसमेतको सजाय सुनाइएको छ।
अदालतले अवैध रूपमा बिक्री वा हस्तान्तरण भएका जमिन पुनः नगर विकास समितिकै नाममा कायम गर्न आदेश दिएको छ। अदालतका निर्णयअनुसार जमिन किन्ने अधिकांश व्यक्तिलाई भने सफाइ दिइएको छ।
महेन्द्रनगर नगर विकास समितिको नाममा ६ सय ३८ बिगाहा जग्गा रहे पनि वर्षौंदेखि राजनीतिक नियुक्तिका आधारमा आएका अध्यक्षहरूको मनपरीले ५ सय बिगाहाभन्दा बढी क्षेत्र हिनामिना भएको अख्तियारले जनाएको छ। छानबिनमा बोर्डको निर्णयविपरीत र एकल तोकादेशको भरमा जग्गा उपलब्ध गराइएको प्रमाण भेटिएपछि अख्तियारले सो प्रकरणमा ठूलाे संख्यामा मुद्दा दायर गरेको थियो।
पल्टु राना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नाउपाबाट कञ्चनपुर–१ का उम्मेदवार बनेका थिए। अहिले उनी नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित