लम्कीचुहाकी नगरप्रमुख सुशीला शाही ‘शी लिड्स आइकन’ की प्रथम विजेता

सार्थक ब्यूरो ।महिला नेतृत्व तथा सशक्तिकरणका क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने स्थानीय तहका महिला जनप्रतिनिधि सम्मानित गर्ने “शी लिड्स आइकन” कार्यक्रमको यस वर्षको शीर्ष स्थान लम्कीचुहा नगरपालिका, कैलालीकी नगरप्रमुख सुशीला शाहीले हात पार्नुभएको छ।
कल्प इम्पावर विमेन नेपालले आयोजना गरेको कार्यक्रमको दोस्रो संस्करणमा विभिन्न चरणका मूल्यांकन तथा छनोट प्रक्रिया पार गर्दै शाही पहिलो स्थानमा पुग्न सफल हुनुभयो। विजयी घोषणा पछि प्रतिक्रिया दिँदै उहाँले प्राप्त समर्थन, उत्साह तथा सहयोगकै कारण आफू सफल हुन सकेको बताउनुभयो। “यो उपलब्धि व्यक्तिगत मात्र होइन, हाम्रो सामूहिक प्रयत्नको नतिजा हो,” नगरप्रमुख शाहीले उल्लेख गर्नुभयो।
आयोजकका अनुसार प्रतियोगिताका लागि १३१ आवेदन पुगेका थिए, जसमध्ये १११ आवेदन प्रक्रिया पूरा भएका थिए। ती आवेदन विभिन्न प्रदेशका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष पदमा निर्वाचित महिला जनप्रतिनिधिबाट आएका थिए।
छनोट प्रकियामा पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार विज्ञ चारु चड्ढा र लैङ्गिकता विशेषज्ञ सरु जोशी रहेको टोलीले मूल्यांकन गरेको थियो।
निर्णायक मण्डलले कोशीबाट ४, मधेशबाट ५, बागमतीबाट ५, गण्डकीबाट ४, लुम्बिनीबाट ४, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी ३१ उत्कृष्ट महिला जनप्रतिनिधि अन्तिम सूचीका लागि चयन गरेको थियो। तिनमध्ये ७ जनालाई ‘आइकन’ घोषणा गरिएको हो।
अन्तिम परिणाम जनमत, प्रत्यक्ष कार्यगत विवरण तथा निर्णायक मण्डलको अन्तर्वार्ता समेटेर तय गरिएको थियो। सोही आधारमा सबैभन्दा बढी समर्थन प्राप्त गर्दै सुशीला शाही यस वर्षको “शी लिड्स आइकन” की प्रथम विजेता बन्न सफल हुनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित