सार्थक ब्यूरो ।विदेशी रोजगार विभागभित्रै संगठित रूपमा मानव तस्करी संचालन भएको खुलासा भएको छ। विभागका निर्देशक तथा सूचना अधिकारी उपेन्द्रराज पौडेलको प्रत्यक्ष निर्देशनमै अवैध कार्य व्यापक रूपमा अघि बढेको विभागभित्रका स्रोतले दाबी गरेका छन्।
पुर्व गृहमन्त्री रमेश लेखकको सिफारिसमा विभागमा आएका उपसचिव पौडेलले पछिल्ला दस महिनामा मानव तस्करीको नाममा करिब २० करोड रुपैयाँभन्दा बढी उठाएको आरोप लागेको छ। गत वर्ष चैतमा विभागमा पदस्थापन भएका उनी प्रशासन शाखाको नेतृत्व पनि सम्हाल्दै आएका छन्।
स्रोतका अनुसार पौडेलले गृह मन्त्रालय, अध्यागमन विभाग, श्रम तथा रोजगार मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म मजबूत ‘नेटवर्क’ खडा गरेका छन्। विभागभित्र संकलित रकम उच्च तहसम्म पुर्याउने कार्य पनि उनीकै सेटिङमा व्यवस्थित रूपमा चल्ने गरेको बताइन्छ।
यति मात्र होइन, विभागमा भएका गतिविधि बारे जानकारी माग्दा निर्देशक पौडेलले खुलस्त विवरण दिन हिचकिचाउने र सबैलाई आईटी शाखाका कर्मचारी पंकज यादवतर्फ धकेल्ने गरेको कर्मचारीहरूले बताएका छन्।
पूर्व गृहमन्त्री लेखकको सचिवालय मानव तस्करीमा संलग्न रहेको पुष्टि भएपछि पौडेललाई विभागमा पठाइएको विभाग स्रोतको भनाइ छ। विदेशी रोजगार विभागका अधिकांश शाखाको नेतृत्व गरिसकेका पौडेल उच्च राजनीतिक संरक्षण र प्रशासनिक पहुँचका कारण सुरक्षित रहेको आरोप छ।
स्रोतका अनुसार उनले विभिन्न शाखालाई रकम असुल्न स्पष्ट निर्देशन दिने गरेका छन्। यस विषयमा थप जानकारी लिन विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई सम्पर्क गर्दा प्रतिक्रिया प्राप्त हुन सकेन।
पौडेलले भने कुनै पनि निकायले बयानका लागि बोलाए आफू उपस्थित हुन तयार रहेको प्रतिक्रिया दिएको बताइन्छ। विभागभित्र दैनिक रूपमा उठ्ने करोडौँ रुपैयाँ म्यानपावर व्यवसायी र सम्बन्धित निकायहरूसँग मिलेमतोमा बाँडफाँड हुने गरेको दाबी पनि स्रोतले गरेको छ।
स्रोतका अनुसार पौडेल र उनका निकटवर्तीसँग सम्बन्धित सम्पत्ति अनुसन्धान भएमा मानव तस्करीका शृङ्खलाबद्ध आर्थिक हित स्पष्ट देखिनेछ।


















Discussion about this post