ईश्वर पोखरेल समूहमार्फत युवा भेला, महासचिव शंकरले तयारीबारे आज पत्रकार सम्मेलन

सार्थक ब्यूरो ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले आगामी ११औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै छुट्टै युवा भेला आयोजना गरेको छ। महाधिवेशनको उद्घाटनका ठीक अघिल्लो दिन गरिएको यो भेला पार्टीभित्र पछिल्ला दिनमा देखिएको मतभेदसँग जोडिएको रूपमा हेरिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले बिहीबार स्वयंसेवक भेला गरेको एक दिनमै पोखरेल समूहले काउन्टर कार्यक्रमका रूपमा शुक्रबार युवा भेलाको तयारी गरेको हो। पोखरेल पक्षीय नेताहरूका अनुसार महाधिवेशनसम्बन्धी मुख्य व्यवस्थापनमा आफूहरूलाई समावेश नगरेको भन्दै उनीहरू निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
समूहका एक नेताले बताएअनुसार, भेला काठमाडौँको कार्की बैंक्वेटमा बिहान साढे ११ बजे सुरु हुने छ। कार्यक्रममा अध्यक्ष पदका उम्मेदवारसमेत रहेका ईश्वर पोखरेल र अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
यसैबीच, महासचिव शंकर पोखरेल शनिबारदेखि आरम्भ हुने महाधिवेशनको पूर्वसन्ध्यामा भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलन गर्दैछन्। दिउँसो २ बजे आयोजना हुने पत्रकार सम्मेलनमा महाधिवेशन तयारीका बारेमा विस्तृत जानकारी सार्वजनिक गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन्।
शुक्रबार नै पार्टी सचिवालय बैठक पनि बोलाइएको छ। च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा विधान संशोधनका प्रस्ताव र ५ प्रतिशत मनोनित प्रतिनिधि सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित