सार्थक ब्यूरो ।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएको छ । पार्टीले केन्द्रीय कमिटी बैठकपछि मात्रै महाधिवेशनको बन्दसत्रको औपचारिक कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।
पार्टी स्रोतका अनुसार केन्द्रीय कमिटीको बैठक सम्पन्न भएपछि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ । बैठक सकिए लगत्तै बन्दसत्रको कार्यसूची कार्यान्वयनमा जाने जनाइएको छ ।
भृकुटीमण्डपमा आयोजना हुने बन्दसत्रले पार्टीको समसामयिक राजनीतिक एजेन्डामाथि छलफल गर्दै विभिन्न निर्णय गर्नेछ । साथै महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइने छ ।
यसअघि शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको मैदानमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा देशभरबाट आएका पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बन्दसत्रमा निर्वाचित, मनोनीत तथा आयोजक प्रतिनिधिहरू मात्र सहभागी हुनेछन् । महाधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
पार्टीका अनुसार नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी छ । सहमति कायम हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार मतदानमार्फत नेतृत्व चयन गरिने जनाएको छ ।


















Discussion about this post