हुलाकी राजमार्गको बेलौरी–बेल्डाँडी खण्डको सम्झौता तोडियो, निर्माण कम्पनी कालोसूचीमा पर्ने

सार्थक ब्यूरो । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको बेलौरी–बेल्डाँडी सडक खण्डको ठेक्का रद्द गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि करिब एक दशक बित्दासमेत निर्माण कार्य सम्पन्न हुन नसकेपछि ठेक्का तोड्ने निर्णय गरिएको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले जनाएको छ।
योजना कार्यालयले बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्माण सम्झौता खारेज गरिएको जानकारी दिएको हो। ठेक्का लिएको निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया समेत अघि बढाइने जनाइएको छ। २० किलोमिटर लामो उक्त सडक ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी १२ फागुन २०७३ मा बाबाहंश–सिद्धीसाइ जेभीसँग सम्झौता भएको थियो। आयोजनाको कुल लागत ४१ करोड ४१ लाख ४९ हजार रुपैयाँ तोकिएको थियो।
हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ८२ प्रतिशत र वित्तीय प्रगति ७७ दशमलव १३ प्रतिशतमा सीमित छ। पछिल्लो पटक गत १० असारमा साढे तीन महिनाका लागि सातौँ पटक म्याद थप गरिएको भए पनि निर्माण कम्पनी काममा फर्किन नआएको उनले बताए।
उनका अनुसार पटक–पटक सूचना र पत्राचारमार्फत दबाब दिँदा पनि निर्माण कार्य अघि नबढेपछि अन्तिम पटक ठेक्का किन नतोड्ने भन्ने सूचनासमेत प्रकाशित गरिएको थियो। त्यसपछि पनि कम्पनी सम्पर्कमा नआएपछि सम्झौता रद्द गरिएको हो।
२० किलोमिटरमध्ये १२ दशमलव ४३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्डमा बेसको काम मात्र भएको छ। करिब एक हजार चार सय मिटर क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आफ्नो क्षेत्र दाबी गर्दै ग्राभेल गरेपछि निर्माणमा अवरोध आएको जनाइएको छ। ठेक्का रद्दसँगै निर्माण कम्पनीको धरौटी जफत गर्ने लगायतका प्रक्रिया अघि बढाइने योजना कार्यालयले जनाएको छ। सिद्धीसाइ निर्माण कम्पनी नेपाली काँग्रेस डोल्पाका सभापति दिपेन्द्रबहादुर शाहीसँग सम्बन्धित रहेको बताइएको छ।
कञ्चनपुरमा हुलाकी राजमार्गको ६२ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी ठेक्का दिइएको थियो। अन्य दुई खण्डमा पनि पटक–पटक म्याद थपपछि मात्र निर्माण कार्य सम्पन्न भएको थियो। लामो समयसम्म काम अलपत्र रहँदा पनि यसअघि ठेक्का रद्द गर्ने निर्णय हुन सकेको थिएन।
कैलालीमा पनि हुलाकी राजमार्ग निर्माण अधुरो
कैलाली जिल्लामा समेत हुलाकी राजमार्गको निर्माण कार्य अझै पूरा हुन सकेको छैन। धनगढीदेखि टीकापुरको सत्तीसम्मको करिब ४५ किलोमिटर सडकअन्तर्गत भजनी–सत्ती र फूलबारी–बसन्ता खण्डमा काम अधुरै रहेको छ।
आयोजनाका सूचना अधिकारी गणेशबहादुर बुढाका अनुसार भजनीदेखि सत्तीसम्मको १३ किलोमिटर खण्डको भौतिक प्रगति हाल ४६ प्रतिशत मात्र छ। असार २०७७ मा सम्झौता भई पुस २०७९ भित्र सम्पन्न हुनुपर्ने कामको म्याद पछिल्लोपटक थप गरिएको अवधि आगामी चैतमा सकिँदैछ।
यस्तै, फूलबारी–कैलारी खण्डको १२ किलोमिटरमध्ये करिब एक किलोमिटर सडक मात्र कालोपत्रे हुन बाँकी रहेको छ। यस खण्डको पछिल्लो म्याद यही महिनाभित्र सकिन लागेको छ। लम्कीदेखि टीकापुर सत्तीसम्मको लिंक रोड निर्माणसमेत अझै अधुरो रहेको आयोजना कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित