कञ्चनपुर कारागारमा झडपले खोलेको प्रशासनिक मिलेमतो

सार्थक डेस्क।कञ्चनपुर कारागार शुक्रबार दिउँसो भएको झडपपछि गम्भीर प्रश्नको केन्द्रमा पुगेको छ । कैदीबन्दीबीच भएको भनिएको झडप वास्तवमा कारागारभित्र लामो समयदेखि मौलाउँदै आएको बेथिति, आर्थिक अनियमितता र प्रशासनिक मिलेमतोको विस्फोट भएको कैदीबन्दीहरूको दाबी छ । घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा सात जना घाइते भए । घाइते हुनेमा किरण सिंह, करण कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, संजिव भण्डारी र जनक खड्का रहेका छन् । गम्भीर घाइते भएका किरण सिंह, करण कुँवर, दिनेश कुँवर र राजेन्द्र सुनारको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ र कारागारको अवस्था अझै तनावग्रस्त छ । प्रहरी टोलीले स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिरहेको जनाएको छ ।
कारागारभित्रको झडप केवल आपसी विवाद नभई प्रशासन र नाइकेको मिलेमतोमा हुँदै आएको कथित घोटाला र अवैध गतिविधिविरुद्धको प्रतिरोध भएको कैदीबन्दीहरूको भनाइ छ । उनीहरूका अनुसार कारागारभित्र अवैध लागुऔषध र मदिराको कारोबार, रासन तथा पोसाक वितरणमा व्यापक आर्थिक चलखेल हुँदै आएको थियो ।
कारागारका सूचना अधिकारी जीवन पन्तका अनुसार झडपमा चार नाइके र चार सहनाइके गरी आठ जना गम्भीर घाइते भएका छन् । घाइते हुने नाइकेहरूमा किरण सिंह, मदन गिरी, संदिप भण्डारी र जनक खड्का रहेका छन् भने सहनाइकेहरूमा दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही र करण कुँवर छन् ।
कारागार ऐन २०७९ को दफा २० अनुसार, कारागार प्रशासकले बन्दीलाई मौसमअनुसारको पोसाक उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर कञ्चनपुर कारागारमा भने ऐनको मर्म विपरीत वर्षमा दुई पटक नगद चार हजार रुपैयाँ दिने निर्णय गरिएको छ । अझ गम्भीर कुरा के छ भने, कैदीबन्दीहरूका अनुसार त्यो रकम पनि पूर्ण रूपमा नदिइ दुई हजार पाँच सय रुपैयाँ मात्रै वितरण गरिएको छ ।
यस्तै, रासन र पोसाकमा झन्डै ३० प्रतिशतसम्म घोटाला भइरहेको, र पोसाक बापतको रकममा मात्र करिब तीन लाख ८४ हजार रुपैयाँ बराबरको अनियमितता भएको आरोप कैदीबन्दीहरूले लगाएका छन् ।
कैदीबन्दीहरूको गुनासो अनुसार, कारागार प्रशासनले नाइके छनोट गर्दा प्रशासनको पक्षमा काम गर्ने, गोप्य विषय बाहिर नल्याउने र कैदीहरूमाथि कडा व्यवहार गर्ने व्यक्तिलाई प्राथमिकता दिँदै आएको छ । नाइके वा जेलरविरुद्ध आवाज उठाउने कैदीलाई अन्य जिल्लाको कारागारमा स्थानान्तरण गर्ने धम्की दिने गरिएको दाबी पनि उनीहरूले गरेका छन् ।
कारागार प्रशासनकै मिलेमतोमा कारागारभित्र अवैध रूपमा मदिरा र लागुऔषधको कारोबार हुने गरेको गम्भीर आरोप पनि बाहिरिएको छ । एक कैदीले ‘८८४८’ लेखिएको मदिराको बोतल देखाउँदै यस्तो कारोबार भइरहेको दाबी गरेका छन् । उनका अनुसार केही कर्मचारी र उनीहरूले तोकेका नाइकेको संलग्नतामा यो धन्दा सञ्चालन हुँदै आएको थियो ।
कञ्चनपुर कारागारकी जेलर वन्दना सुवेदी एक साता अघि मात्रै हाजिर भएकी हुन् र हाल काजमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत छिन् । उनले कारागारभित्र हुँदै आएको घोटालाबारे आफूलाई जानकारी नभएको दाबी गरेकी छन् । तीन वर्षदेखि निमित्त जेलरको जिम्मेवारी सम्हाल्दै आएका रामदत्त जोशीमाथि भने कैदीबन्दीहरूले गम्भीर आरोप लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पनि कारागारको बेथितिबारे शुक्रबार मात्रै जानकारी पाएको बताएका छन् । पछिल्लो समय कारागारको नियमित निरीक्षण नभएको स्वीकार गर्दै, मिलेमतोमा अवैध कारोबार र सेवा–सुविधा खोसिएको प्रमाण भेटिए कडा कारबाही गर्ने उनले बताएका छन् । घटनाको छानबिनका लागि छिट्टै समिति गठन गरिने पनि उनको भनाइ छ ।
कञ्चनपुर कारागारको घटना कुनै आकस्मिक झडप मात्रै होइन । यो कारागार व्यवस्थापनको कमजोर निगरानी, नाइके प्रणालीको दुरुपयोग र प्रशासनिक जवाफदेहिताको अभाव को परिणाम हो । छानबिन समिति गठन र कारबाहीका आश्वासनहरू अघिल्ला घटनामा पनि सुनिएका हुन् । अब प्रश्न यही हो—के यसपटक छानबिन कागजमै सीमित हुनेछ, कि कारागार सुधारको वास्तविक सुरुवात हुनेछ?
कारागार सुधार, पारदर्शी व्यवस्थापन र नियमित अनुगमन नगरे यस्ता घटना फेरि दोहोरिनु अस्वाभाविक हुने छैन । कञ्चनपुर कारागारको झडपले राज्यका सुधारगृह भनिएका संरचनामाथि गम्भीर प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित