सार्थक ब्यूरो ।जेनजी समूहको आन्दोलनका कारण स्थगित रहेको सुदूरपश्चिम प्रदेश सभा पुनः सञ्चालनतर्फ अगाडि बढ्ने संकेत देखिएको छ। प्रदेश सभा सचिवालयले बैठक सञ्चालनका लागि आवश्यक तयारी प्रक्रिया सुरु गरिसकेको जनाएको छ।
प्रदेश सभा सञ्चालनको विषयमा छलफल गर्न सभामुख भीमबहादुर भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको हो। सोमबार बस्ने समितिको बैठकमा प्रदेश सभाको आगामी बैठक सञ्चालन विधि तथा सभामा विचाराधीन विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो।
सभामुख भण्डारीले हालको बजेट अधिवेशन अन्त्य गरी हिउँदे अधिवेशन सञ्चालन गर्ने प्रस्ताव प्रदेश सरकारसमक्ष राखिसक्नुभएको सचिवालयले जनाएको छ। तर उक्त प्रस्तावमा औपचारिक निर्णय भने भइसकेको छैन।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी र तोडफोड भएपछि प्रदेश सभाको अधिवेशन स्थगित गरिएको थियो। अधिवेशन अन्त्यका लागि अनिवार्य रूपमा प्रदेश सभाको बैठक बस्नुपर्ने नभएको स्पष्ट गर्दै सचिव बोगटीले भन्नुभयो, “प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्न सक्छ। प्रदेश प्रमुखबाट अधिवेशन अन्त्यको पत्र आएपछि प्रदेश सभा सचिवालयले सूचना प्रकाशन गरेर जानकारी गराउन सक्छ।”
प्रदेश सभा सचिवालयका अनुसार सभामुखले बजेट अधिवेशन अन्त्य गरी हिउँदे अधिवेशनमार्फत विधेयक पारित र कानुन निर्माण प्रक्रियालाई अगाडि बढाउनु उपयुक्त हुने धारणा राख्नुभएको छ। हिउँदे अधिवेशनलाई प्रायः ऐन–कानुन निर्माणका लागि केन्द्रित अधिवेशनका रूपमा लिने गरिन्छ।
सचिवालयले प्रदेश सभा भवनमा प्राविधिक सामग्री जडान र आवश्यक फर्निचर व्यवस्थापनको काम बाँकी रहेको जनाउँदै ती कार्य छिट्टै सम्पन्न गरी पुस १० गतेभित्र प्रदेश सभाको बैठक सञ्चालन गर्ने लक्ष्य राखिएको सचिव बोगटीले जानकारी दिनुभयो।


















Discussion about this post