छ महिनापछि रसुवागढी नाका सञ्चालनमा, बाढीले ठप्प व्यापार र रोजगारीमा ठूलो क्षति

सार्थक ब्यूरो ।रसुवागढी नाका करिब छ महिनापछि बिहीबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। चीन–नेपाल जोड्ने ल्हेन्दे खोलामा रहेको पक्की पुल गत असारमा आएको बाढीले बगाएपछि नाका पूर्ण रूपमा बन्द थियो, जसका कारण व्यापार, सरकारी राजस्व र स्थानीयवासीको जीविकोपार्जनमा गम्भीर असर परेको थियो।
बाढीले पुल बगाएपछि गत असार २४ गतेदेखि नाका ठप्प रहँदै आएको थियो। त्यसपछि गत भदौ २७ गतेदेखि सुरु गरिएको बेलिब्रिज जडानको काम पूरा भएपछि नाका खोल्ने तयारी भएको हो। चीनतर्फबाट ल्हेन्दे खोलामा अस्थायी बेलिब्रिज निर्माण भएसँगै बिहीबारदेखि नाका सञ्चालनमा ल्याइने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो।
रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ४० अर्ब १६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको भए पनि लामो समय नाका बन्द रहँदा उक्त लक्ष्य हासिल गर्न कठिन भएको छ। पन्थीका अनुसार पुल तयार भएपछि बाढीअघि चीनतर्फ अड्किएका मालवाहक सवारीसाधन लिन आइतबारदेखि चालकलाई उतातर्फ जान अनुमति दिइएको छ। चीनपट्टि दुई सयभन्दा बढी कन्टेनर रहेको अनुमान छ, जसमा केहीमा सामान र केही खाली छन्।
बडादसैँको समयमा नाका बन्द हुँदा विद्युतीय सवारीसाधन, फलफूल तथा लत्ताकपडालगायतका सामान आयात हुन सकेका थिएनन्। नाका खोल्ने विषय दुई पक्षबीच औपचारिक बैठकबाट तय नभए पनि चीनतर्फबाट जनवरी १ अर्थात् पुस १७ गतेदेखि नाका खुल्ने जानकारी प्राप्त भएको पन्थीले बताउनुभयो। नाका कहिले खुल्छ भन्ने चासो बढेपछि जिल्ला प्रशासन कार्यालयले वेबसाइटमार्फत पनि सूचना सार्वजनिक गरिसकेको छ।
बाढीअघि रसुवागढी नाकाबाट दैनिक करिब सयवटा कन्टेनर चीनतर्फ जाने र त्यति नै संख्यामा सामान नेपाल भित्रिने गरेको थियो। लामो समय नाका बन्द हुँदा स्थानीयवासीको रोजगारी र आम्दानी गुमेको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङले बताउनुभयो। हाल नाका क्षेत्र सुनसान देखिन्छ। यस नाकाबाट तयारी वस्तु, स्याउलगायत फलफूल र अधिकांश विद्युतीय सवारीसाधन आयात हुने गर्थे।
रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार नाका बन्द रहेकै अवधिमा करिब २१ अर्ब रुपैयाँ बराबरको राजस्व गुमिसकेको छ। अन्य नाकाबाट सीमित मात्रामा मालवाहक सवारी नेपाल भित्रिए पनि त्यसले रसुवाको राजस्व क्षतिलाई पूर्ति गर्न नसकेको उहाँको भनाइ छ।
नाका खुलेपछि चीनबाट सामान बोकेका सवारीसाधन रसुवा भन्सारको यार्डमा प्रवेश गरी भन्सार जाँचपछि मात्र गन्तव्यतर्फ पठाइनेछन्। तर बेलिब्रिज साँघुरो र एकतर्फी भएकाले पहिलाजस्तो संख्यामा कन्टेनर आवतजावत हुन नसक्ने भट्टराईले स्पष्ट पार्नुभयो। भारी बोक्ने क्षमताका सवारीसाधनलाई पनि पुलले सहजता नदिने उहाँको भनाइ छ।
रसुवागढीदेखि स्याफ्रुबेँसीसम्मको करिब १६ किलोमिटर सडकखण्डमा गत असारमा दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा लामो समय सडक अवरुद्ध भएको थियो। अहिले पनि सडक साँघुरो र केही स्थानमा एकतर्फी सञ्चालनमा रहेकाले मालवाहक सवारीको आवतजावतमा समस्या देखिएको छ। उक्त सडक चीन सरकारको अनुदानमा स्तरोन्नति हुँदै भए पनि तत्कालका लागि पूर्ण सहजता आइसकेको छैन।
पुस महिनाका लागि रसुवा भन्सारले ३ अर्ब ८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो। तर आधा महिना बितिसक्दा लक्ष्य पूरा नहुने निश्चित भएको भट्टराईले बताउनुभयो। नाका खुलेलगत्तै राजस्व संकलन बढिहाल्ने अवस्था नरहेको उहाँको भनाइ छ। व्यवसायीले प्रतीतपत्र खोल्ने, चीनतर्फ गएर सामान लोड गर्ने प्रक्रिया पूरा गर्नुपर्ने भएकाले माघदेखि मात्र उल्लेख्य रूपमा सामान भित्रिन थाल्ने अनुमान गरिएको छ।बाढीले क्षति पुर्‍याएको भोटेकोशी किनारको भन्सार क्षेत्र सफा गरी करिब दुई सय कन्टेनर अट्ने व्यवस्था मिलाइएको भट्टराईले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित