सार्थक ब्यूरो ।कञ्चनपुरको भीमदत्त नगरपालिकाले झन्डै एक करोड रुपैयाँ खर्चेर निर्माण गरेको फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र हालसम्म प्रयोगमा आउन सकेको छैन। तीन वर्षअघि वडा नम्बर ४ महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माण गरिएको उक्त केन्द्र सञ्चालनमा नआउँदा नगरको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
डम्पिङ साइट निर्माण गर्न नसकेको नगरपालिकाले वैकल्पिक समाधानका रूपमा निर्माण गरेको सूक्ष्म वर्गीकरण केन्द्रसमेत निष्क्रिय रहनु चिन्ताको विषय बनेको छ। भीमदत्त नगरपालिकामा हाल १९ वटा वडा रहेकामा वडा नम्बर ४ र १८ का बजार क्षेत्र तथा वडा नम्बर ६, ९, १० र ११ का केही बस्तीबाट मात्र नगरपालिकाले नियमित रूपमा फोहोर सङ्कलन गर्दै आएको छ।
नगरपालिकाको वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन शाखाका प्रमुख सविन रावलका अनुसार घर तथा पसलबाट फोहोर उठाउँदा लागत अत्यधिक हुने तर आम्दानी नआउँदा पालिकालाई राजस्व घाटा व्यहोर्नु पर्ने अवस्था छ। यही कारण फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सकस भइरहेको उहाँले बताउनुभयो।
फोहोर व्यवस्थापनमा लगानी धेरै तर प्रयोग कम भएपछि नगरपालिकाले फोहोरको सूक्ष्म वर्गीकरणमार्फत राजस्व वृद्धि गर्ने उद्देश्यले विसं २०७९ मा पालिका भवनको पछाडि करिब ८० लाख रुपैयाँ खर्चेर उक्त केन्द्र निर्माण गरेको थियो।
यस केन्द्रमा फोहोर छुट्याउने काम सहज बनाउने उद्देश्यले युएनडिपीको प्राविधिक सहयोगमा निड्स नेपालले करिब २० लाख रुपैयाँ लागतका दुईवटा उपकरणसमेत खरिद गरी जडान गरेको थियो। भवन निर्माण सम्पन्न भएपछि नगरपालिकाले भीमदत्तका करिब दुई हजार स्थानीयलाई घरमै फोहोर छुट्याउने विषयमा तालिम दिएको थियो। साथै जैविक फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न प्रयोग हुने कम्पोस्ट बिनसमेत वितरण गरिएको थियो।
यद्यपि, संरचना, उपकरण र जनशक्ति तयारी हुँदाहुँदै पनि सूक्ष्म वर्गीकरण केन्द्र हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा नगरको फोहोर व्यवस्थापनमा अपेक्षित सुधार देखिन सकेको छैन।


















Discussion about this post