सुदूरपश्चिममा प्रतिनिधिसभा निर्वाचनका लागि ४१ मतदान स्थल थप

सार्थक ब्यूरो ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा थप ४१ वटा मतदान स्थल निर्धारण गरिएको छ। मतदाताको संख्या वृद्धि, भौगोलिक पहुँच र मतदान प्रक्रियालाई सहज बनाउन नयाँ मतदान स्थल थप गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टका अनुसार यसअघि प्रदेशभर एक हजार १३५ मतदान स्थल रहेकामा यसपटक ४१ स्थल थपिएपछि संख्या बढेको हो। सबैभन्दा धेरै डडेलधुरामा २४ मतदान स्थल थपिएका छन्, जसपछि त्यहाँको कुल संख्या १०४ पुगेको छ। बाजुरामा पाँच स्थल थपिएर ७५ पुगेका छन्।
डोटीमा तीन मतदान स्थल थप भई ११८ पुगेका छन् भने कैलाली र दार्चुलामा दुई–दुई स्थल थप गरिएको छ। कैलालीमा अब २३७ र दार्चुलामा ११२ मतदान स्थल कायम गरिएको छ। बझाङ, अछाम र कञ्चनपुरमा भने यसपटक मतदान स्थलको संख्या यथावत् राखिएको छ। निर्वाचन आयोगका अनुसार बझाङमा १३३, अछाममा १३० र कञ्चनपुरमा १३२ मतदान स्थल रहेका छन्।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि कुल मतदाता संख्या १७ लाख १५ हजार ७६० पुगेको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै मतदाता कैलाली जिल्लामा रहेका छन्, जहाँ पाँच लाख ५१ हजार ५२ मतदाता छन्। कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, बैतडीमा एक लाख ५६ हजार ३७२ र दार्चुलामा ९२ हजार ९४८ मतदाता छन्।
त्यसैगरी डडेलधुरामा ९३ हजार ४०३, बझाङमा एक लाख २६ हजार ९०३, अछाममा एक लाख ६५ हजार ३३७, डोटीमा एक लाख २८ हजार ३९९ र बाजुरामा ८६ हजार ९६१ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कुल मतदातामध्ये आठ लाख ५१ हजार ३१९ पुरुष, आठ लाख ६४ हजार ४२३ महिला र १८ जना अन्य लिङ्गका मतदाता रहेका छन्। २०७९ को निर्वाचनमा सुदूरपश्चिममा कुल मतदाता संख्या १६ लाख ६९ हजार ४११ थियो।
खलङ्गा समाचारदाताका अनुसार निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयमुक्त वातावरणमा सम्पन्न गर्न जिल्लास्तरीय सुरक्षा तयारी तीव्र पारिएको छ। जिल्ला सुरक्षा समिति दार्चुलाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले मतदान केन्द्रको सुरक्षाका लागि विशेष योजना बनाइएको जानकारी दिनुभयो।
सुरक्षा समितिको निर्णयअनुसार जिल्लाभरका मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको छ। दार्चुलाका कुल १४१ मतदान केन्द्रमध्ये २२ वटा अति संवेदनशील, ४१ वटा संवेदनशील र ७८ वटा सामान्य श्रेणीमा राखिएको प्रजिअ पौडेलले बताउनुभयो। वर्गीकरणअनुसार सुरक्षाकर्मी परिचालन र नियमित गस्तीको व्यवस्था मिलाइने उहाँको भनाइ छ।जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीका अनुसार जिल्लामा १४१ मतदान केन्द्र र ११२ मतदान स्थल कायम गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित