कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण, एक व्यक्ति गम्भीर अवस्थामा अस्पताल भर्ना

सार्थक ब्यूरो ।कञ्चनपुर जिल्लामा जङ्गली हात्तीको आक्रमणमा परेर एक जना व्यक्ति गम्भीर घाइते भएका छन्। घाइते हुनेमा भीमदत्त नगरपालिका–१९ बागफाटा, शुक्रराज टोल निवासी ४० वर्षीय छक्कु डगौरा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार राति करिब साढे ९ बजे बस्तीमा प्रवेश गरेको जङ्गली हात्तीलाई भगाउने प्रयास गर्ने क्रममा डगौरामाथि आक्रमण भएको हो। हात्तीको आक्रमणबाट उनको टाउको, अनुहार, छाती र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार प्रारम्भिक उपचार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा गरिएपछि थप उपचारका लागि डगौरालाई कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पताल रेफर गरिएको छ।
यसैबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जङ्गली जनावर बस्तीमा प्रवेश गरेमा आफैं धपाउन प्रयास नगर्न स्थानीयवासीलाई आग्रह गरेको छ। जङ्गली जनावरबाट हुने क्षतिको विवरणसहित जानकारी प्राप्त भएमा नियमानुसार क्षतिपूर्ति उपलब्ध गराइने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित