शुक्लाफाँटामा भूक्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माण तीव्र

सार्थक ब्यूरो ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ करौल क्षेत्रमा भूक्षय नियन्त्रणका उद्देश्यले स्याली नदीमा तटबन्ध निर्माणका विभिन्न आयोजना अघि बढाइएका छन्। नदीका जोखिमयुक्त खण्डमा एकैसाथ तटबन्ध निर्माण भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्।
वडा नम्बर ६ का अध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत ८० लाख रुपैयाँको लागतमा १५० मिटर तटबन्ध निर्माण भइरहेको छ। त्यस्तै सङ्घीय सरकारको आयोजनाअन्तर्गत पाँच लाख रुपैयाँ खर्चेर २५ मिटर र प्रदेश सरकारको सहयोगमा १५ लाख रुपैयाँको लागतमा ५० मिटर तटबन्ध निर्माण कार्य अघि बढाइएको छ।
यसैगरी टोटी नालामा पनि १० लाख रुपैयाँभन्दा बढीको लागतमा करिब ४० मिटर तटबन्ध निर्माणको तयारी भइरहेको अध्यक्ष ऐरले बताउनुभयो। उहाँका अनुसार वर्षायाममा तीव्र भूक्षय हुने क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर तटबन्ध निर्माण गरिँदै छ भने दोस्रो चरणमा सार्वजनिक जग्गा र बगर संरक्षण क्षेत्रलाई समेट्ने योजना छ।
स्थानीय बन्दा रानाले स्याली नदीको कटानका कारण प्रत्येक वर्ष वर्षातमा ठूलो क्षति सहनुपरेको बताउँदै तटबन्ध बनेपछि समस्या समाधान हुने आशा व्यक्त गर्नुभयो। वडा कार्यालयमा भूक्षयको समस्या जानकारी गराएपछि जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण सुरु भएको उहाँको भनाइ छ।
स्याली नदीमा निर्माण भइरहेका तटबन्ध आयोजनाबाट सार्वजनिक सडक सुरक्षित हुनुका साथै दुई सयभन्दा बढी स्थानीयको जग्गा भूक्षयको जोखिमबाट जोगिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित