लौकही घटनामा छानबिन समिति गठन, पाँचबुँदे सहमति भए पनि प्रदर्शन कायमै

सार्थक ब्यूरो । सुनसरीको कोसी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ । तर, घटनाप्रति आक्रोशित बनेका स्थानीय बासिन्दाले आन्दोलन र प्रदर्शन भने निरन्तरता दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा प्रहरी नायब उपरीक्षक (डीएसपी) र राष्ट्रिय अनुसन्धान विभागका एक जना अधिकृत सदस्य रहनेछन् । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार छलफलका क्रममा पाँचबुँदे सहमति भएको छ । सहमतिअनुसार मृतक विजय साहकी श्रीमती र छोरालाई रोजगारीको व्यवस्था गर्ने तथा सशस्त्र प्रहरी बलको लौकहीस्थित बीओपी टोली फिर्ता गर्ने निर्णय भएको छ ।
प्रशासनसँगको सहमतिपछि मृतकका आफन्त र स्थानीय प्रतिनिधिहरूले आन्दोलन फिर्ता लिन आग्रह गरे पनि घटनाको पूर्ण छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयको प्रदर्शन अझै रोकिएको छैन । लौकही क्षेत्रको अवस्था तनावपूर्ण नै रहेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित