एमाले उपमहासचिव लेखराज भट्ट कैलाली–४ बाट पुनः चुनावी मैदानमा

सार्थक डेस्क।नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याएको छ। शनिबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले लामो छलफलपछि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम निर्णय गरेको हो।
सचिवालयको निर्णयअनुसार एमाले उपमहासचिव लेखराज भट्ट कैलाली निर्वाचन क्षेत्र–४ बाट उम्मेदवार बन्ने भएका छन्। सशस्त्र द्वन्द्वकालमा भूमिगत राजनीतिमा सक्रिय रहेका भट्ट २०६४ सालदेखि यही क्षेत्र (साविक कैलाली–५) बाट निरन्तर चुनावी प्रतिस्पर्धामा छन्।
२०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट पहिलो पटक चुनाव लडेका भट्टले नेपाली कांग्रेसका उम्मेदवार दिर्घराज भाटलाई पराजित गर्दै संसदीय यात्राको सुरुआत गरेका थिए। उक्त निर्वाचनमा भट्टले १७ हजार ९७९ मत प्राप्त गर्दा भाटले १३ हजार ६३८ मत पाएका थिए।
तर २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नतिजा उल्टियो। कांग्रेस उम्मेदवार दिर्घराज भाटले १६ हजार ३४६ मत ल्याउँदै भट्टलाई पराजित गरे, भट्टले भने ९ हजार ३३४ मतमा सीमित रहनु परेको थियो।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार बनेका भट्टले पुनः विजय हासिल गरे। उनले ३१ हजार ३६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत पाए।
२०७९ सालको निर्वाचनमा भने भट्टले फेरि पराजय व्यहोरे। कांग्रेस–माओवादी–समाजवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता विरबहादुर बलायरले ३ हजार ६१२ मत अन्तरले भट्टलाई हराएका थिए। बलायरले २६ हजार २७५ मत पाउँदा भट्ट २२ हजार ६६३ मतमै सीमित भएका थिए।
चार पटकको निर्वाचन यात्रामा दुई जित र दुई हारको अनुभव बटुलेका भट्ट यसपटक पाँचौँ पटक प्रतिनिधि सभा सदस्यका लागि मैदानमा उत्रिन लागेका हुन्।
कैलाली–४ मा नेपाली कम्युनिष्ट पार्टीले हरि चौधरीलाई उम्मेदवार बनाइसकेको छ भने नेपाली कांग्रेसले अझै उम्मेदवार चयन गरेको छैन। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट खेमराज कोइराला, दिल्लीराज जोशी, मिनबहादुर बोहरा, शिवराज पन्त, हेमराज भट्ट र सत्यराज रावल गरी छ जनाले उम्मेदवारीका लागि दाबी पेश गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित