सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा कुल २२० मत खसेका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि गरी २२० जनाले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिएअनुसार प्रदेशसभाका ४९ सदस्य र विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी १७१ जनाले मतदानमा सहभागिता जनाए। कुल २२४ मतदाता रहेकामा ४ जनाले मतदान नगरेको कार्यालयले जनाएको छ।
मतदानमा अनुपस्थित रहनेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा बिष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल तथा जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन्।
महिला र अन्य समूहबाट एक–एक गरी दुई जना राष्ट्रियसभा सदस्य चयन गर्न भइरहेको निर्वाचनमा चार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। महिला समूहअन्तर्गत नेपाली कांग्रेस–एमाले गठबन्धनबाट एमालेकी लिलाकुमारी भण्डारी र नेकपाबाट रोजी बस्नेत उम्मेदवार छन्। अन्य समूहमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टिकाराम जैशी चुनावी प्रतिस्पर्धामा रहेका छन्।


















Discussion about this post