सार्थक ब्यूरो।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा दुई हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन व्यवस्थापनका लागि कुल २ हजार १ सय ६६ जना कर्मचारी खटाइने तयारी गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले जिल्लाभर ३ सय ६० वटा स्थायी र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको जानकारी दिनुभयो । प्रत्येक स्थायी मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी खटाइने व्यवस्था गरिएको छ । ती केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी रहनेछन् ।
अस्थायी मतदान केन्द्रमा भने तीन जना कर्मचारी रहने व्यवस्था गरिएको छ । ती केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना कार्यालय सहयोगी खटाइनेछन् ।
निर्वाचन प्रयोजनका लागि निजामती सेवाका स्थायी कर्मचारी, स्थायी शिक्षक तथा विभिन्न संस्थानमा कार्यरत कर्मचारीलाई सम्बन्धित निर्वाचन अधिकृतमार्फत खटाइने प्रावधान रहेको छ । प्रत्येक मतदान केन्द्रमा आवश्यक स्वयंसेवकको नियुक्ति भने सम्बन्धित मतदान अधिकृतले गर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतका अनुसार केही दिनभित्रै निर्वाचनमा खटाइने कर्मचारीको विवरण संकलन तथा खटनपटन प्रक्रिया अघि बढाइनेछ ।
जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ मा १ सय २२, निर्वाचन क्षेत्र नम्बर २ मा १ सय २३ र निर्वाचन क्षेत्र नम्बर ३ मा १ सय १५ मतदान केन्द्र गरी जम्मा ३ सय ६० मतदान केन्द्र तोकिएका छन् । अघिल्लो निर्वाचनको तुलनामा मतदाताको संख्या वृद्धि भएकोले यसपटक १४ वटा मतदान केन्द्र थप गरिएको र दुईवटा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको जनाइएको छ ।
मतदाता संख्याका हिसाबले निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख १ हजार ७ सय २४, निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५ सय ७४ र निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ३ हजार ८७ मतदाता रहेका छन् । यसरी जिल्लाभर कुल ३ लाख १४ हजार ३ सय ८५ मतदाता रहेका छन् । तीमध्ये १ लाख ५४ हजार ६८ पुरुष र १ लाख ६० हजार ३ सय १६ महिला मतदाता रहेका छन् ।


















Discussion about this post