सार्थक ब्यूरो।कञ्चनपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ज्ञानेन्द्र सिंह महता संघीय संसद् सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। एफएम रेडियो सञ्चालकका रूपमा परिचित महता पहिलो पटक संसदीय राजनीतिमा भाग लिन लागेका हुन्। सांसद बनेर आम नागरिकका जीवनसँग जोडिएका मुद्दालाई संस्थागत रूपमा संसद्मा उठाउने उद्देश्यले चुनाव लडेको उनको भनाइ छ।
४० वर्षीय महताको प्रतिस्पर्धामा एमालेका पूर्व सांसद डा. दीपक प्रकाश भट्ट, कांग्रेसका पूर्व जिल्ला सभापति हरि बोहरा, नेकपाका मानबहादुर सुनार, राप्रपाका पूर्णबहादुर चन्दलगायत उम्मेदवार छन्। अहिले महता मतदाताका समस्या र गुनासा सुन्ने उद्देश्यसहित घरदैलो अभियानमा सक्रिय देखिन्छन्।
रास्वपाको विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिवसमेत रहेका महता पार्टीका संस्थापक सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन्। रास्वपाले उनलाई कञ्चनपुर–३ बाट एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
कञ्चनपुर–३ अन्तर्गत भीमदत्त, दोधारा–चाँदनी र बेदकोट नगरपालिकाका ३० वडा पर्दछन्। २०७९ सम्मका स्थानीय, प्रदेश र संघीय निर्वाचनमा यहाँ कांग्रेस र एमालेको प्रभुत्व रहँदै आएको छ। अघिल्ला निर्वाचनहरूमा पनि यी दुई दलको वर्चस्व देखिन्छ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा यस क्षेत्रभित्र कांग्रेस र एमालेले एक–एक पालिका जितेका थिए। कांग्रेसले भीमदत्त नगरपालिकामा विजय हासिल गर्दा एमालेले दोधारा–चाँदनी नगरपालिका जितेको थियो। २०७४ मा भने यसको ठीक उल्टो नतिजा आएको थियो। त्यस्तै, वडागत नतिजामा कांग्रेसले १४, एमालेले ९, नेकपाले ४, राप्रपाले २ र स्वतन्त्र उम्मेदवारले १ वडा जितेका थिए।
एमाले उम्मेदवार डा. दीपक प्रकाश भट्ट २०७४ मा तत्कालीन माओवादीसँगको चुनावी गठबन्धनबाट निर्वाचित भएका नेता हुन्। उनी तत्कालीन जनमुक्ति सेना नेपाली सेनामा समायोजन सम्बन्धी समितिका सदस्यसमेत रहिसकेका छन्। नेकपाका उम्मेदवार मानबहादुर सुनार साविक दोधारा गाविसका अध्यक्ष हुँदै २०७४ मा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई राज्य मन्त्री बनेका थिए।
राप्रपाका उम्मेदवार पूर्णबहादुर चन्द २०६६/०६७ तिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आयोगका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। यस्तै, पहिलो पटक संसदीय चुनावमा सहभागी हुँदै नेकपा (माओवादी) का पूर्व विद्यार्थी नेता विष्णुप्रकाश उपाध्याय (बिराट) पनि चुनावी मैदानमा छन्। २०६४ को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सिद्धनाथ बहुमुखी क्याम्पसको कोषाध्यक्षमा निर्वाचित उपाध्यायले यसपटक संसदीय यात्रा सुरु गर्न खोजेका हुन्।
इतिहास हेर्दा कञ्चनपुर–३ बाट कांग्रेस, एमाले र माओवादी केन्द्रले पालैपालो जित हात पारेका छन्। २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा दोधारा–चाँदनीका इन्द्रबहादुर खत्री निर्वाचित भएका थिए, जो हाल राप्रपामा आबद्ध छन्। २०४८ पछि भने राप्रपाले यस क्षेत्रमा चुनाव जित्न सकेको छैन।
२०४८ मा कांग्रेसका तारणीदत्त चटौत, २०५१ मा एमालेका उर्वादत्त पन्त, २०५६ मा कांग्रेसका रमेश लेखक, २०६४ मा कांग्रेसका शेरबहादुर देउवा, २०६५ को उपनिर्वाचनमा माओवादीका कमल क्षेत्री, २०७४ मा एमालेका डा. दीपक प्रकाश भट्ट र २०७९ मा पुनः कांग्रेसका रमेश लेखक निर्वाचित भएका थिए।यसपटक भने लेखक चुनावी प्रतिस्पर्धामा छैनन्। कांग्रेसले विशेष महाधिवेशनपछि टिकट नदिएपछि उनी मैदान बाहिरिएका हुन्।कञ्चनपुर–३ मा हाल १ लाख ३ हजार ८७ मतदाता छन्। ती मतदाताको समर्थन जुटाउन सबै दलका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त देखिएका छन्।


















Discussion about this post