पत्रकार महासंघ कञ्चनपुरमा चोरी, संस्थागत सम्पत्तिमा क्षति

सार्थक ब्यूरो।कञ्चनपुरस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा दिनदहाडै चोरी भएपछि संस्थागत सुरक्षा र सम्पत्तिको जोखिमप्रति चासो बढेको छ। भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको महासंघ कञ्चनपुर शाखाको कार्यालयमा तोडफोड गरी सामग्री चोरी भएको हो।
महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेयका अनुसार बुधबार दिउँसो करिब १ बजेदेखि ३ बजेसम्मको समयमा कार्यालयका ढोका फोडेर भित्र रहेका सामान चोरी गरिएको छ। कार्यालय समयमै भएको घटनाले संस्थागत सुरक्षामाथि प्रश्न उठाएको छ।
सचिव पाण्डेयले विज्ञप्ति जारी गर्दै आम नागरिकलाई सूचना प्रवाह गर्ने पत्रकारहरूको साझा संस्थामै दिउँसै तोडफोड र चोरी हुनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन्। उनका अनुसार यस घटनाले महासंघको भौतिक सम्पत्ति मात्र होइन, नियमित कामकाज र सेवाप्रवाहमा समेत असर पुर्‍याएको छ।
महासंघ कञ्चनपुरले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल पक्राउ गर्न र कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। यसअघि पनि महासंघको कार्यालयबाट कम्प्युटर चोरी भइसकेको बताइएको छ, जसले संस्थामाथि थप आर्थिक भार र क्षति थपिँदै गएको देखिन्छ।
लगातारका यस्ता घटनाले सञ्चारसम्बद्ध संस्थाहरूको भौतिक सुरक्षा, बीमा व्यवस्था र सम्पत्ति संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको सरोकारवालाहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित