सार्थक ब्यूरो।बैतडीको पुर्चौडी नगरपालिका–७ बडुगाउँमा बिहीबार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा एउटै परिवारका चार सहोदर दाजुभाइ र चार बाबु–छोरा सहित १३ जनाको ज्यान गएको पुष्टि भएको छ। साँझ करिब साढे सात बजे बडुगाउँको मोडमा बस दुर्घटनामा परेको थियो।
ज्यान गुमाउनेमध्ये बित्थडचिर गाउँपालिका–७ लगुणासाका नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ रहेका छन्। नरेन्द्रराज स्थानीय तहमा वडा सचिवका रूपमा कार्यरत थिए भने विष्णुदत्त महादेव माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक थिए। सोही दुर्घटनामा उनीहरूका भतिजा वसन्तराज जोशीको पनि निधन भएको छ। वसन्तराज दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि प्राविधिक पदमा कार्यरत थिए।
दुर्घटनामा ४० वर्षीय केशवराज जोशी र उनका एकमात्र छोरा अशोकराज जोशीले पनि ज्यान गुमाएका छन्। अशोकराजको घटनास्थलमै मृत्यु भएको बताइएको छ। यसैगरी बेहुलाका दाजु उत्तमराज जोशीका अनुसार गम्भीर घाइते भएका किसनदत्त जोशी र विसनदत्त जोशी, जो सहोदर दाजुभाइ हुन्, उपचारका लागि डडेलधुरा लैजाँदै गर्दा बाटोमै बितेका हुन्।
घटनास्थलमै बझाङको केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र उनका छोरा केशवराज भट्टको पनि मृत्यु भएको छ। उनीहरू मृतक नरेन्द्रराज र विष्णुदत्तका भिनाजु र भानिज पर्ने बताइएको छ।
यस दर्दनाक घटनाले सिंगो गाउँ शोकमा डुबेको छ। विवाहको खुसी साट्न हिँडेका परिवार र आफन्तहरू केही क्षणमै कहिल्यै नफर्किने यात्रामा परिणत हुँदा स्थानीयबासी स्तब्ध बनेका छन्।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले मानवीय सहायताका रूपमा राहत दिने तथा घाइतेहरूको सरकारी अस्पतालमा हुने उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन्।
पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस दुर्घटनामा परी ३४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइतेमध्ये २५ जनाको डडेलधुरा अस्पताल, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।


















Discussion about this post