सार्थक ब्यूरो।रौतहटको सदरमुकाम गौर आसपास दुई समुदायबीच देखिएको तनावलाई साम्य पार्दै दिगो सद्भाव कायम गर्ने उद्देश्यले आइतबार बिहान सर्वपक्षीय बैठक सम्पन्न भएको छ। स्थानीय प्रशासनको अगुवाइमा आयोजित उक्त बैठकले शान्ति सुरक्षा सुदृढ बनाउन पाँच बुँदे सहमति गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार पछिल्लो अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन सार्वजनिक अपिल गर्ने निर्णय गरिएको छ। साथै, समस्या समाधानका लागि स्थानीय तहका जनप्रतिनिधि, समुदायका अगुवा तथा सरोकारवालासँग समन्वयलाई थप प्रभावकारी बनाउने सहमति जुटाइएको छ।
बैठकले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायसँग सहकार्य गर्ने र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने विषयमा पनि जोड दिएको छ।
सहमति अनुसार, विवादका क्रममा भएका घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण वातावरण निर्माणका लागि संयुक्त अपिल जारी गरिनेछ। कर्फ्यु लागू अवस्थाबीच समुदायहरूबीच समझदारी कायम राख्न सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, विवाद समाधानमा सहयोग पुग्ने गरी दुवै समुदायका सम्मानित व्यक्ति र स्थानीय अगुवासँग जिल्ला सुरक्षा समितिले निरन्तर संवाद गर्ने निर्णय गरिएको छ। सामाजिक सद्भावमा आँच पुर्याउने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी जारी राखी अनुसन्धानको निष्कर्षका आधारमा कानुनी कारबाही अघि बढाइने प्रशासनले जनाएको छ।
धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह गर्न नागरिक समाजको नेतृत्वमा निर्धारित समयमा सद्भाव र्याली आयोजना गर्ने तयारीसमेत गरिएको छ।
प्रशासनले जिल्लामा शान्ति र स्थायित्व कायम राख्न सबै समुदायलाई संयमित व्यवहार गर्न, अफवाहमा विश्वास नगर्न र आपसी समझदारीलाई प्राथमिकता दिन आग्रह गरेको छ।


















Discussion about this post