दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

सार्थक व्युरो ।कञ्चनपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।शुक्लाफाँटा नगरपालिका–८ स्थित भित्री सडकखण्डमा बुधबार विपरीत दिशाबाट आउँदै गरेका म २ प ५०५५ र से ६ प ५९१३ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका ४५ वर्षीय मीनबहादुर जागरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार साँझ निधन भएको हो ।
दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय मङ्गल महरा तथा अर्को मोटरसाइकल चालक ४२ वर्षीय कम्मानसिंह ठगुन्ना घाइते भएका छन् । उनीहरूको कैलालीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित