मापसेका कारण वैशाखमा १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु, ट्राफिक नियम पालना गर्न प्रहरीको आग्रह

सार्थक व्युरो । गत वैशाख महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा देशभर १२४ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। ती दुर्घटनामा १२ जनाको ज्यान गएको छ भने १७४ जना घाइते भएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार दुर्घटनाको संख्या विभिन्न प्रदेशमा फरक–फरक रूपमा देखिएको छ। काठमाडौँ उपत्यकामा मात्र ३७ दुर्घटना भएका छन्, जसमा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन्।
कोशी प्रदेशमा ३५ दुर्घटनामा दुई जनाको मृत्यु र ५३ जना घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ। मधेस प्रदेशमा २० दुर्घटना भए पनि मृत्यु नभई २७ जना घाइते भएका छन्। बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन्।
त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु र तीन जना घाइते भएका छन् भने लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन्। कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ।
प्रहरीले मापसेका कारण सवारी दुर्घटनाको जोखिम निरन्तर बढिरहेको भन्दै ट्राफिक नियमको कडाइका साथ पालना गर्न सबै चालकलाई आग्रह गरेको छ। विशेषगरी रातिको समय, सार्वजनिक बिदा तथा चाडपर्वका बेला मापसे गरी सवारी चलाउने प्रवृत्ति बढी देखिने गरेको प्रहरीको भनाइ छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले मापसे नियन्त्रणका लागि देशभर अभियानलाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा नियमित चेकजाँच कडाइ गरिएको छ।
प्रहरीले मापसे गरी सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाही गर्ने तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको जनाएको छ। अधिकारीले मापसेपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा समस्या आउने र तीव्र गतिमा चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको जोखिम अत्यधिक हुने बताउनुभयो।
प्रहरीले सुरक्षित यात्राका लागि जिम्मेवार भएर सवारी चलाउन सबै चालक तथा सर्वसाधारणलाई पुनः आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित