सार्थक व्युरो । नेपालगन्ज। महिलाहरू र किशोरीहरूलाई महिनावारी व्यवस्थापनसम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले ‘फ्रिडम किट ब्याग’ निर्माण तालिम नेपालगन्जमा सुरु भएको छ।
सामाजिक विकास डिभिजन बाँकेको सहयोग तथा दिदीबहिनी समाज बाँकेको आयोजनामा सञ्चालन भएको सातदिने तालिममा नेपालगन्ज उपमहानगरपालिका–१० का किशोरी तथा महिलाहरू सहभागी भएका छन्।
आयोजक संस्थाका अनुसार महिनावारीका बेला प्रयोग हुने सेनेटरी प्याडको वैकल्पिक तथा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड निर्माणबारे सहभागीलाई व्यावहारिक प्रशिक्षण दिइनेछ। तालिमले महिलाको स्वास्थ्य, सरसफाइ र आत्मनिर्भरतामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
दिदीबहिनी समाज बाँकेकी अध्यक्ष रमादेवी शाहको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिका सदस्य तथा वडा नं. १० की सदस्य बिना थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष कमला वलीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सहसचिव शोभा थापा मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन्। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि थापा मगरले यस्ता सीपमूलक तालिमले महिलाको क्षमता अभिवृद्धि गर्नुका साथै स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहलगायतले पनि मन्तव्य राखेका थिए।
सात दिनसम्म सञ्चालन हुने तालिममा अनिता न्यौपाने र पार्वती कडायतले प्रशिक्षण प्रदान गर्नेछन्। तालिममा २० जना किशोरी तथा महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ।


















Discussion about this post