सार्थक व्युरो । लुम्बिनी प्रदेश नागरिक समाज युवा मञ्चको अध्यक्षमा वर्षा ठकुरी निर्वाचित भएकी छन्। भालुवाङमा सम्पन्न प्रदेशस्तरीय युवा सम्मेलनबाट उनी अध्यक्ष पदमा चयन भएसँगै उक्त मञ्चको नेतृत्वमा पहिलो पटक तेस्रोलिंगी व्यक्तिले जिम्मेवारी सम्हाल्ने अवसर पाएकी हुन्।
लुम्बिनी प्रदेशका १२ जिल्लाका युवाहरूको सहभागितामा सम्पन्न सम्मेलनमा भएको निर्वाचनमा वर्षाले आफ्ना प्रतिस्पर्धी पुरुष तथा महिला उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरिन्। उनी तीन मतको झिनो अन्तरले अध्यक्ष पदमा निर्वाचित भएकी हुन्।
निर्वाचनपछि प्रतिक्रिया दिँदै ठकुरीले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि समावेशिता र समान प्रतिनिधित्वको साझा सफलताका रूपमा लिनुपर्ने बताइन्। उनले सबै समुदायको सहभागितालाई सुनिश्चित गर्दै युवा मञ्चलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
फरक पहिचान समाज नेपाल तथा मायाको पहिचान नेपालसँग आबद्ध ठकुरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। नवगठित समितिको सहअध्यक्षमा आस्था विक तथा सदस्य–सचिवमा प्रियङ्का गिरी निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरूमा समीक्षा पुन मगर, रुद्रमणि भुसाल, कविता बुढा, विष्णु विक, रवि विक, अमृत विक, आशिष शक्ति राज, रेजिना मिया, रमेश बड र समीक्षा विक चयन भएका छन्।
मायाको पहिचान नेपाल र फरक पहिचान समाज नेपालले यस निर्वाचनलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। संस्थाहरूले जारी गरेको धारणा अनुसार यो सफलता केवल एक व्यक्तिको जित नभई समग्र समुदायको सहभागिता, पहिचान र नेतृत्व क्षमताको स्वीकारोक्ति भएको उल्लेख गरिएको छ।
संस्थाहरूले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन समाजका सीमान्तकृत र वञ्चित समुदायको अर्थपूर्ण सहभागिता आवश्यक रहेको जनाउँदै सबै क्षेत्रमा समान अवसर र समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताएका छन्।
उनीहरूको भनाइमा, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्य नेतृत्वदायी भूमिकामा निर्वाचित हुनु सामाजिक रूपान्तरणको सकारात्मक संकेत हो। यस उपलब्धिले समावेशिता, समानता र सशक्तीकरणका पक्षमा भइरहेका प्रयासलाई थप गति दिने विश्वास पनि व्यक्त गरिएको छ।
साथै, यस सफलताले आगामी दिनमा समुदायको नेतृत्व विकास, प्रतिनिधित्व विस्तार र अधिकारमुखी अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउन प्रेरणा प्रदान गर्ने संस्थाहरूको विश्वास छ।


















Discussion about this post