खल्ला मसेटीमा निःशुल्क स्वास्थ्य शिविर, ९३ जना लाभान्वित

सार्थक व्युरो । भीमदत्त नगरपालिका–९ स्थित खल्ला मसेटीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ९३ जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयको आयोजनामा आइतबार सम्पन्न शिविरमा औषधिसहित विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो। शिक्षालयका निर्देशक प्रमल साउदका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै करिब एक लाख रुपैयाँ बराबरको औषधिसहित स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
उनले प्राविधिक शिक्षा प्रदान गर्नुका साथै शिक्षालयले सामाजिक सेवाका विविध क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। दुर्गम क्षेत्रमा रहेका नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको उनको भनाइ छ।
शिविरमा ५४ जना महिला र ३९ जना पुरुषले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएको चिकित्सक डा. गोविन्द रोकायाले जानकारी दिए। उनका अनुसार छाला, पेट, दम, मधुमेहलगायत विभिन्न स्वास्थ्य समस्याका बिरामीले सेवा लिएका थिए।
त्यसैगरी, शिविरअन्तर्गत १७ जना महिला र २१ जना पुरुषले प्रयोगशाला परीक्षण सेवा समेत प्राप्त गरेका थिए।
स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, शिक्षालयका निर्देशक प्रमल साउद, महाकाली प्रादेशिक अस्पतालका डा. अर्जुन भट्टलगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित