सार्थक व्युरो । महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणअन्तर्गत पर्ने नहर क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सिँचाइ व्यवस्थापन कार्यालयले सात दिनको समयसीमा दिएको छ।
मंगलबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले मूल तथा शाखा नहरको सीमाभित्र अनुमति बिना निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको हो। नहर क्षेत्रभित्र घरटहरा निर्माण गर्ने, निर्माण सामग्री थुपार्ने, नहर पुरी बाटो बनाउने, नहरका संरचनामा क्षति पुर्याउने, ढल तथा फोहोर पानी मिसाउने र पानीको प्रवाह अवरुद्ध गर्ने गतिविधि बढ्दै गएको भन्दै कार्यालयले यस्तो कदम चालेको जनाएको छ।
महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रमोद तिम्सिनाका अनुसार तोकिएको अवधिभित्र अतिक्रमित संरचना नहटाइए कानुनी प्रक्रिया अघि बढाइनेछ। साथै हटाउने कार्यमा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उनले बताए।
कार्यालयका अनुसार आयोजनाको पहिलो र दोस्रो चरणअन्तर्गत निर्माण गरिएको ७५ किलोमिटर लामो मूल नहरमध्ये करिब २० किलोमिटर क्षेत्रमा नहरको दायाँ–बायाँ भाग अतिक्रमणको चपेटामा परेको छ। अतिक्रमणका कारण सिँचाइ पूर्वाधारको संरक्षण तथा सञ्चालनमा समस्या उत्पन्न हुन थालेको जनाइएको छ।
यसअघि महेन्द्रनगरस्थित डिभिजन सडक कार्यालयले पनि गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म फैलिएको महेन्द्र राजमार्ग क्षेत्रको अतिक्रमण हटाउन १५ दिनभित्र संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरेको थियो। सरकारी निकायहरूले सार्वजनिक सम्पत्ति तथा पूर्वाधार संरक्षणका लागि अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएका छन्।


















Discussion about this post