सार्थक व्युरो । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेपछि स्थानीयवासीले विरोध जनाएका छन्। शुक्रबार बिहान सुस्ता गाउँपालिका–५ स्थित थारू टोल क्षेत्रमा पुगेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले आफ्नो भूमिमा प्रवेश नगर्न आग्रह गर्दै प्रतिकार गरेका हुन्।
स्थानीयका अनुसार बिहान करिब ७ बजे भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा देखिएपछि खेतबारीमा काम गरिरहेका बासिन्दाले आपत्ति जनाएका थिए। केही समय दुवै पक्षबीच सामान्य भनाभन भए पनि पछि भारतीय सुरक्षाकर्मी भारतीय सीमातर्फ फर्किएका थिए।
यसअघि नारायणी नदीमा निर्माणाधीन तटबन्धको कामलाई लिएर गत जेठ १७ गते पनि एसएसबी नेपाली भूमिमा प्रवेश गरेको घटना सार्वजनिक भएको थियो। त्यसयता उक्त क्षेत्रलाई दुवै देशका सुरक्षाकर्मीले निगरानीमा राख्दै आएका छन्।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेले भारतीय सुरक्षाकर्मी नियमित गस्तीका क्रममा सीमा क्षेत्र नजिक पुगेको र पानी जमेको स्थान पार गर्ने क्रममा नेपाली भूभागतर्फ आएको जानकारी दिए। उनले नेपाली सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेपछि अवस्था सामान्य बनेको बताए।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा देखिएपछि स्थानीयले विरोध जनाएका थिए। त्यसपछि केहीबेर विवादको स्थिति सिर्जना भए पनि दुवै देशका सुरक्षाकर्मीको समन्वयमा समस्या समाधान भएको उनले बताए।
स्थानीयवासीले सुस्ता क्षेत्रमा लामो समयदेखि भारतीय पक्षबाट अतिक्रमणको प्रयास हुँदै आएको आरोप लगाउँदै आएका छन्। उनीहरूका अनुसार नारायणी नदीले धार परिवर्तन गरेपछि सीमा क्षेत्रको पहिचान जटिल बन्दै गएको छ र सीमा स्तम्भको अभावले समस्या थप बढाएको छ।
इतिहासअनुसार तत्कालीन राजा महेन्द्रको पालामा सुस्ताको सीमा सुरक्षाका लागि पूर्वसैनिकसहित सयौं परिवारलाई त्यहाँ बसोबास गराइएको थियो। तर २०३४ सालतिर नारायणी नदीले धार परिवर्तन गरेपछि बस्ती विस्थापित भएको र त्यसयता सीमा विवाद झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार सुस्ताको ठूलो भूभाग अहिले पनि विवादित अवस्थामा रहेको छ। सीमा निर्धारणका लागि आवश्यक स्तम्भ नहुँदा खेतीपाती तथा जोतभोगका विषयमा बेला–बेला विवाद उत्पन्न हुने गरेको छ। सुस्ताको २४ किलोमिटर क्षेत्रफलमा हालसम्म सीमा स्तम्भ स्थापना हुन नसकेको बताइएको छ।
सीमांकन स्पष्ट नहुँदा नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकबीच समय–समयमा तनाव सिर्जना हुने गरेको स्थानीयवासीले बताएका छन्।


















Discussion about this post