सार्थक ब्यूरो । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बहिष्कार गरेका अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
सोमबार राति अबेर बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गरेका हुन्। बजेट पेश हुनुअघि प्रदेशसभा बैठक लामो समयसम्म अनिश्चित बनेको थियो। सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतिपक्षी दलहरूले बैठकमा सहभागी नहुने निर्णय गरेका थिए। यद्यपि, सभामुखले बैठक सञ्चालन गरेपछि बजेट प्रस्तुत गरिएको हो।
सरकारले सार्वजनिक गरेको बजेटका लागि आन्तरिक आय, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न प्रकारका अनुदान तथा चालु आर्थिक वर्षको सम्भावित बचतलाई मुख्य वित्तीय स्रोतका रूपमा राखेको छ।
बजेटका स्रोतहरूमध्ये १ अर्ब ७२ करोड रुपैयाँ आन्तरिक राजस्वबाट जुटाइने लक्ष्य राखिएको छ। त्यसैगरी संघीय राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ तथा चालु आर्थिक वर्षको अनुमानित बचतबाट ९ अर्ब ६५ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
यस्तै, संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानतर्फ ५२ करोड ७६ लाख रुपैयाँ बजेटको स्रोतका रूपमा समावेश गरिएको छ।
प्रतिपक्षी दलहरूको अनुपस्थितिमा राति ढिलो बजेट प्रस्तुत गरिएको विषयले प्रदेश राजनीतिक वृत्तमा चर्चा पाएको छ। आगामी दिनमा बजेटमाथिको छलफल, प्राथमिकता र कार्यान्वयनको प्रभावकारिताबारे प्रदेशसभाभित्र तथा बाहिर बहस बढ्ने अनुमान गरिएको छ।


















Discussion about this post