सार्थक ब्यूरो । नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण चिया उद्योग संकटमा परेको भन्दै संसद्मा पुनः सरकारको ध्यानाकर्षण गराइएको छ। नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतीय पक्षले लागू गरेको नयाँ प्रावधानका कारण चिया उद्योग ठप्प हुने अवस्थामा पुगेको भए पनि सरकारले आवश्यक पहल नगरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले भारतले गुणस्तर परीक्षणको नाममा नेपाली चिया निर्यातमा नयाँ अवरोध सिर्जना गरेको बताए। उनका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ व्यवस्था अनुसार चियाको गुणस्तर परीक्षण र त्यसको प्रतिवेदन प्राप्त गर्न दुई साताभन्दा बढी समय लाग्ने गरेको छ। प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने प्रावधानका कारण नेपाली उत्पादकहरू गम्भीर समस्यामा परेका छन्।
उनले यस व्यवस्थाले चिया उद्योग सञ्चालन गर्न कठिनाइ उत्पन्न गरेको उल्लेख गर्दै सूर्योदय नगरपालिकाभित्र मात्रै ५३ भन्दा बढी उद्योग र इलाम जिल्लाभर करिब ८३ उद्योग प्रभावित भई बन्द हुन पुगेको जानकारी दिए।
राईका अनुसार उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया बिक्री हुन नसकी नष्ट हुने अवस्था आएको छ। साथै, चिया टिप्ने मजदुरदेखि उद्योगमा कार्यरत श्रमिकसम्मको रोजगारी प्रभावित भएको छ। बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरू समेत आर्थिक दबाबमा परेको उनले बताए।
सरकारले यस विषयलाई आवश्यक प्राथमिकता नदिएको भन्दै उनले व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीले अन्य गतिविधिमा समय खर्चिए पनि चिया किसान र उद्योगीको समस्यातर्फ पर्याप्त ध्यान नदिएको टिप्पणी गरे। चिया क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण गराउँदै उनले वार्षिक रूपमा ठूलो परिमाणमा तयारी चिया निर्यात हुने क्षेत्रलाई संकटबाट जोगाउन तत्काल कूटनीतिक र नीतिगत पहल आवश्यक रहेको बताए।
सांसद राईले आफूले यस विषयलाई पटक–पटक संसद्मा उठाउँदै आएको उल्लेख गरे। साथै प्रधानमन्त्री, परराष्ट्रमन्त्री, कृषिमन्त्री तथा उद्योग–वाणिज्यसँग सम्बन्धित निकायका पदाधिकारीसमक्ष पनि उद्योगी र व्यवसायीहरूले लिखित तथा मौखिक रूपमा समस्या राखिसकेको जानकारी दिए।
उनले सरकारले भारतसँग आवश्यक संवाद गरी चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउन पहल गर्नुपर्ने माग गरे। साथै दीर्घकालीन रूपमा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै तेस्रो मुलुकमा निर्यातको सुनिश्चित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।


















Discussion about this post