सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी पूर्वाधार आयोजनामध्ये एक मानिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्यले गति लिँदै गएको छ। निर्माण सुरु भएको करिब एक वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति १२.८५ प्रतिशत पुगेको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीका अनुसार हाल बन्दरगाह क्षेत्रमा भन्सार कार्यालय, सशस्त्र प्रहरीका लागि भवन, कर्मचारी आवास तथा अन्य आवश्यक संरचना निर्माणको काम भइरहेको छ। यसका साथै टर्मिनल भवन, भन्सार भवन र विभिन्न आवासीय पूर्वाधार निर्माणको कार्यसमेत जारी रहेको उनले बताए।
३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको यस परियोजनाको लागत भारतीय मुद्रामा करिब दुई अर्ब ३७ करोड रुपैयाँ रहेको छ।
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ मा रहेको गौरीशङ्कर सामुदायिक वन क्षेत्रभित्र बन्दरगाह निर्माण भइरहेको हो। यस आयोजनाका लागि नेपाल र भारत सरकारबीच सन् २०२३ जुन १ मा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो।
कुल ४२.३६ हेक्टर क्षेत्रफलमा फैलिने बन्दरगाह परिसरमा दुईवटा गोदाम, भन्सार परीक्षण केन्द्र, क्वारेन्टाइन सुविधा, अध्यागमन कार्यालय तथा सुरक्षा निकायका भवनलगायतका संरचना निर्माण गरिनेछ।
बन्दरगाहसम्म पुग्न नेपालतर्फबाट छ लेनको पहुँचमार्ग निर्माण भइसकेको छ भने महाकाली नदीमाथिको चार लेनको पक्की पुलसमेत सञ्चालनमा आइसकेको छ। भारततर्फ भने पहुँचमार्ग निर्माणको काम जारी छ।
यो सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिम प्रदेशमा व्यापार, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। यसले सीमावर्ती क्षेत्रको आर्थिक विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ।


















Discussion about this post