दार्चुलामा श्रीमानको मृत्यु प्रकरणः श्रीमती पक्राउ, अनुसन्धान जारी

सार्थक ब्यूरो । दार्चुलाको मार्मा गाउँपालिका–४ मा एक पुरुषको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले मृतककी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनाबारे ढिलो जानकारी प्राप्त हुनु र शवको दाहसंस्कार भइसकेपछि मात्रै प्रहरी पुग्न सकेकाले अनुसन्धान चुनौतीपूर्ण बनेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मार्मा गाउँपालिका–४ निवासी पूर्णसिंह धामीको जेठ ३१ गते आफ्नै घरमा मृत्यु भएको अवस्थामा फेला परेका थिए। घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको आशंका गरिए पनि प्रहरीलाई यसको जानकारी भने दुई दिनपछि मात्रै प्राप्त भएको थियो। यसबीच स्थानीयले असार १ गते नै शवको दाहसंस्कार गरिसकेका थिए।
प्रहरीका अनुसार घटनास्थलबाट आवश्यक प्रमाण संकलन गर्नुअघि नै शव जलाइसकिएको कारण अनुसन्धानलाई थप जटिल बनाएको छ। घटनासँग सम्बन्धित विषयमा सोधपुछका लागि मृतककी श्रीमती राधा धामीलाई नियन्त्रणमा लिइएको छ। यद्यपि उनले आरोप स्वीकार नगरेको प्रहरीले जनाएको छ।
मृतक पूर्णसिंह धामी विगत करिब एक दशकदेखि भारतको बेङ्गलोरमा रोजगारी गर्दै आएका थिए। उनी करिब एक महिनाअघि मात्रै घर फर्किएका थिए। घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन।
शवको दाहसंस्कार भइसकेको र घटनाबारे समयमै सूचना नपुग्दा प्रमाण संकलन तथा तथ्य पुष्टि गर्न कठिनाइ भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले बताएका छन्।
मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले समेत यति गम्भीर घटनाबारे स्थानीय तहलाई समयमै जानकारी नदिइएको बताएका छन्। उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र गहिरो अनुसन्धान आवश्यक रहेको उल्लेख गरेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप गरी प्रक्रिया अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित