सार्थक ब्यूरो । महिला, दलित, आदिवासी जनजाति तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका युवाको सहभागिता बढाउँदै सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रलाई सशक्त बनाउने उद्देश्यले युरोपेली संघको आर्थिक सहयोगमा नयाँ परियोजना सुदूरपश्चिम प्रदेशबाट सुरु गरिएको छ। करिब ७ लाख युरो (झण्डै १० करोड रुपैयाँ) लागतको उक्त परियोजनाको प्रदेशस्तरीय उद्घाटन कार्यक्रम सोमबार धनगढीमा सम्पन्न भएको हो।
एफसीए नेपालको नेतृत्वमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स र शान्ता फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने “परिवर्तनको आवाजः सिर्जनशीलता, पहिचान र अभियानमार्फत भविष्य निर्माण” नामक परियोजनाले कला, साहित्य, संगीत, नाटक, चित्रकला, हस्तकला लगायत सिर्जनात्मक क्षेत्रमा क्रियाशील युवालाई अवसर, स्रोतसाधन र सुरक्षित कार्य वातावरण उपलब्ध गराउने लक्ष्य राखेको छ। परियोजना सुदूरपश्चिम, मधेश प्रदेश र काठमाडौं उपत्यकामा कार्यान्वयन गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री बेलबहादुर रानामगरले कलाकारलाई प्रदेशको महत्वपूर्ण सम्पत्तिका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याए। कला र संस्कृतिको संरक्षणले सामाजिक तथा आर्थिक विकासमा समेत योगदान पुर्याउने उल्लेख गर्दै उनले कलाकारलाई आवश्यक सम्मान, अवसर तथा स्रोतमा पहुँच दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
सुदूरपश्चिम प्रदेशसभा अन्तर्गत सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले स्थानीय कला, संस्कृति र पहिचानलाई आर्थिक गतिविधिसँग जोड्न सकेमात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुने धारणा व्यक्त गरे। उनले युवालाई सिर्जनात्मक उद्यमशीलतासँग आबद्ध गराउने परियोजनाको उद्देश्य समयानुकूल रहेको बताए।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानकी उपकुलपति सरस्वती दाहालले प्रदेशका मौलिक सांस्कृतिक सम्पदा क्रमशः ओझेलमा पर्दै गएको चिन्ता व्यक्त गर्दै तिनको संरक्षणका लागि साझा प्रयास आवश्यक रहेको बताइन्। उनले देउडा, थारु र राना थारु समुदायका सांस्कृतिक अभ्यासलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन्।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले स्थानीय कलाकार र सिर्जनशील क्षेत्रका व्यक्तिको योगदानलाई संस्थागत रूपमा सम्मान गर्न ‘मेहनत नीति’ तयार भइसकेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा भएपछि कार्यान्वयनमा ल्याइने बताइन्।
कार्यक्रममा परियोजनाको उद्देश्य, लक्षित समुदाय र आगामी गतिविधिबारे जानकारी गराइएको थियो। आयोजकका अनुसार परियोजना अन्तर्गत सांस्कृतिक कार्यक्रम, महोत्सव, प्रदर्शनी, नाटक, संगीत, कथा वाचन, चित्रकला तथा हस्तकलासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिनुका साथै कलाकारलाई तालिम, क्षमता अभिवृद्धि र प्रस्तुति दिने अवसर उपलब्ध गराइनेछ।
यसैबीच “सुदूरपश्चिममा सांस्कृतिक तथा सिर्जनात्मक उद्योगः अनुभव, चुनौती र अवसर” विषयमा आयोजित अन्तरक्रियामा सहभागीहरूले थारु, राना थारु, डगौरा थारु, डोटेली र अछामी समुदायका भाषा, भेषभूषा, लोकसंस्कृति तथा परम्परागत सीप संरक्षणका लागि तत्काल पहल आवश्यक रहेको बताए। उनीहरूले कलाकारका लागि संस्थागत सहयोग, पर्याप्त बजेट, बजार पहुँच, डिजिटल प्रवर्द्धन तथा प्रतिलिपि अधिकारसम्बन्धी ज्ञान विस्तारमा समेत जोड दिएका थिए।
कार्यक्रमका क्रममा थारु सांस्कृतिक नृत्यसँगै कलाकार सुशीला बम र नरेश जोशीले देउडा प्रस्तुति दिएका थिए। एफसीए नेपालका कन्ट्रि डाइरेक्टर विद्यानाथ भुर्तेलले कला, संस्कृति र सिर्जनशील उद्यमशीलताको विकासका लागि सरकार, नागरिक समाज, युवा तथा समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले परियोजनाले स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
८० भन्दा बढी विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा समावेशी, सुरक्षित र दिगो सांस्कृतिक तथा सिर्जनात्मक वातावरण निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।


















Discussion about this post