जेनजी आन्दोलनको पूर्ण प्रतिवेदन माग्दै आयोग पुगे हमाल

सार्थक ब्यूरो । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक गर्न माग गर्दै आयोगमा निवेदन दर्ता गरेका छन्। हमालले आन्दोलनका क्रममा भएको हिंसा, नागरिकको मृत्यु, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको व्यापक क्षति र त्यसको वास्तविक कारणबारे नेपाली जनताले सत्यतथ्य जान्न पाउने संवैधानिक अधिकार रहेको उल्लेख गरेका छन्। उनले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन कसरी हिंसात्मक बन्यो भन्ने विषय अझै स्पष्ट नभएको भन्दै आन्दोलन सहभागीहरूको आक्रोशका कारण मात्र अवस्था बिग्रिएको हो वा योजनाबद्ध रूपमा देशलाई अशान्त बनाउने कुनै संगठित गिरोह सक्रिय थियो भन्ने विषय निष्पक्ष रूपमा सार्वजनिक हुनुपर्ने बताएका छन्। निवेदनमा सुरक्षा निकायहरूको भूमिकाबारे समेत गम्भीर प्रश्न उठाउँदै कुनै समूहले सुरक्षा संयन्त्रलाई प्रभावमा पारेको वा निष्क्रिय बनाएको थियो कि भन्ने विषयमा समेत आयोगको अनुसन्धानबाट सत्य बाहिर आउनुपर्ने उल्लेख गरिएको छ। हमालले आयोगले उक्त घटनाको अनुसन्धानका क्रममा आफूबाट समेत जानकारी तथा धारणा संकलन गरेको उल्लेख गर्दै, अनुसन्धान सम्पन्न भइसकेपछि प्रतिवेदन गोप्य राख्नु पारदर्शिता, जवाफदेहिता र नागरिकको सूचनाको हकको भावनाविपरीत हुने तर्क गरेका छन्। उनले नेपालको संविधान, सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा आयोगको संवैधानिक दायित्वअनुसार जेनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदनको पूर्ण पाठ, त्यसका निष्कर्ष, सिफारिस तथा कार्यान्वयन अवस्थासमेत सार्वजनिक गर्न आयोगसँग माग गरेका छन्। हमालले ज्यान गुमाएका नागरिकप्रति न्याय, पीडित परिवारप्रति राज्यको उत्तरदायित्व र सम्पूर्ण जनताको सत्य जान्न पाउने अधिकार सुनिश्चित गर्न प्रतिवेदन सार्वजनिक हुनु अपरिहार्य रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित