सार्थक ब्यूरो । राजनीतिक मतभेदका कारण चार वर्षअघि पार्टी कार्यालयमै भएको कुटपिटको पीडा अन्ततः मेलमिलापमा रूपान्तरित भएको छ। भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि भएको कुटपिट प्रकरण अदालतको प्रक्रियामार्फत दुवै पक्षको सहमतिमा टुङ्गिएको हो।
२०८० साल साउनको अन्त्यतिर नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा युवा संघ नेपाल कञ्चनपुरको १०औँ जिल्ला अधिवेशन चलिरहेका बेला तत्कालीन जिल्ला सदस्यसमेत रहेका देवकोटामाथि आक्रमण भएको थियो। उक्त घटनापछि उत्पन्न विवाद, असन्तुष्टि र कानुनी प्रक्रियाले लामो समयसम्म राजनीतिक वृत्तलाई प्रभावित बनाएको थियो।
घटनापछि देवकोटाले आफूलाई ज्यानै लिने उद्देश्यले कुटपिट गरिएको भन्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेका थिए। उपचारका क्रममा उनले महाकाली प्रादेशिक अस्पतालदेखि धनगढीको मायामेट्रो अस्पताल हुँदै काठमाडौँस्थित हेल्पिङ ह्याण्ड अस्पतालसम्म पुग्नुपरेको थियो। मिलापत्रअनुसार प्रतिवादी पक्षले उपचारमा लागेको खर्चबापत साढे तीन लाख रुपैयाँ उपलब्ध गराएको जनाइएको छ।
वडाध्यक्ष देवकोटाले घटनालाई जीवनकै दुःखद अनुभवका रूपमा स्मरण गर्दै संलग्न पक्षले आफ्नो गल्ती महसुस गरेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएकाले मेलमिलापको बाटो रोजिएको बताए। उनका अनुसार अदालतमा प्रक्रियागत रूपमा सहमति जुटाएर विवाद अन्त्य गरिएको हो।
युवा संघ कञ्चनपुरका नेता प्रविन बोगटीले पनि विगतका कमजोरीबाट सिकेर आपसी सद्भाव र सहकार्यलाई प्राथमिकता दिने निष्कर्षमा दुवै पक्ष पुगेको बताए। उनका अनुसार मुद्दा–मामिलाभन्दा सम्बन्ध सुधार र संगठनात्मक एकता बलियो बनाउने पक्षमा सहमति बनेको हो।
पार्टी कार्यालयभित्र भएको उक्त घटनापछि तालाबन्दी, आन्दोलन तथा विभिन्न कारबाहीका प्रक्रिया अघि बढेका थिए। लामो समयसम्म चर्चामा रहेको विवाद अन्ततः संवाद र सहमतिबाट समाधान भएपछि स्थानीय नेता–कार्यकर्ताले यसलाई सकारात्मक अभ्यासका रूपमा व्याख्या गरेका छन्।
उक्त अधिवेशनको उद्घाटन कार्यक्रममा तत्कालीन पार्टी पोलिटब्यूरो सदस्य तथा युवा संगठनका इन्चार्ज महेश बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए। सम्मेलनका क्रममा विभिन्न समूहबीच मतभेद देखिएको बताइए पनि त्यसले अन्ततः हिंसात्मक रूप लिएको थियो।
राजनीतिक प्रतिस्पर्धा र विचारको भिन्नताबीच उत्पन्न हुने तनावले कहिलेकाहीँ मानवीय सम्बन्धमा गहिरो चोट पुर्याउने गर्छ। तर संवाद, आत्मसमीक्षा र मेलमिलापको संस्कृतिले त्यस्ता घाउहरूमा मल्हम लगाउन सक्ने सन्देश यो घटनाले दिएको छ।


















Discussion about this post