असार लागेसँगै सुदूरपश्चिममा बजेट खर्चले लियो गति

सार्थक ब्यूरो । आर्थिक वर्षको अन्तिम महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा बजेट खर्चको गति उल्लेख्य रूपमा बढेको छ। विगतदेखि देखिँदै आएको ‘असारे विकास’को प्रवृत्तिअनुसार असार महिनामा विकास बजेटको खर्च एकाएक बढेको हो।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल बजेटको ३५.२० प्रतिशत मात्र खर्च भएको थियो। तर असार १९ गतेसम्म आइपुग्दा खर्च प्रतिशत झण्डै १० प्रतिशतले बढेर ४४.८१ प्रतिशत पुगेको छ।
कार्यालयका प्रमुख वासुदेव जोशीका अनुसार असारको पहिलो १९ दिनमै तीन अर्ब २० करोड ७२ लाख रुपैयाँ बजेट निकासा गरिएको छ। यससँगै प्रदेशभर कुल १४ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ खर्च भइसकेको छ।
जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ पाँच अर्ब ५५ करोड ५० लाख रुपैयाँ र चालुतर्फ छ अर्ब २२ करोड ११ लाख रुपैयाँ खर्च गरेको थियो। त्यसबेला कुल खर्च ११ अर्ब ७७ करोड ६१ लाख रुपैयाँ पुगेको थियो।
असार १९ गतेसम्मको विवरणअनुसार पुँजीगत खर्च सात अर्ब ४६ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने चालु खर्च सात अर्ब ५१ करोड ४३ लाख रुपैयाँ पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख जोशीका अनुसार असार महिनामा बजेट निकासा सामान्यतया अन्य महिनाभन्दा बढी हुने गर्छ। विशेषगरी असार २० गतेदेखि २५ गतेसम्म सरकारी खाताहरू सञ्चालनमा रहने अवधिमा सबैभन्दा बढी रकम निकासा हुने गरेको उनले बताए।
उनले अब बाँकी अवधिमा चालु खर्चभन्दा पुँजीगत खर्च अझ तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको पनि उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित