सार्थक ब्यूरो । साउन महिनाको अन्तिम सोमबारका अवसरमा कैलालीका विभिन्न शिवालय तथा नदी किनारमा बिहानैदेखि श्रद्धालुको उल्लेख्य उपस्थिति देखिएको छ। भगवान शिवको पूजा आराधना र व्रतका लागि भक्तजनहरू बिहानैदेखि मन्दिर पुगेका हुन्।
साउनका प्रत्येक सोमबार व्रत बस्दै आएका महिलाहरूले आज धार्मिक विधिअनुसार व्रत समापन गर्ने गर्छन्। यस महिनाका अन्य सोमबार व्रत बस्न नसके पनि अन्तिम सोमबार उपवास बसेर शिवको पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहँदै आएको छ।
भगवान शिवलाई साउनको सोमबार विशेष प्रिय दिनका रूपमा लिइने भएकाले यस दिन व्रत, पूजाआजा, दान तथा धार्मिक अनुष्ठान गर्ने प्रचलन छ। यही मान्यताका कारण शिवालयमा भक्तजनको चाप बढेको हो।
कैलालीका बेहडाबाबा, गोदावरी धाम र शिवपुरी धामलगायतका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। भक्तजनहरू शिवलिङ्गमा जल तथा दूध चढाउनुका साथै बेलपत्र, फूललगायतका सामग्री अर्पण गर्दै पूजा गरिरहेका छन्।
धर्मशास्त्रका जानकारहरूका अनुसार यस वर्ष साउनको अन्तिम सोमबार ‘सोमप्रदोष व्रत’ समेत परेको छ। सोमबारकै दिन त्रयोदशी तिथि परेमा त्यसलाई सोमप्रदोष भनिने धार्मिक मान्यता छ।
प्रदोषकाललाई सूर्यास्तको आसपासको विशेष समय मानिन्छ। उक्त समयमा भगवान शिवको पूजा, दीप प्रज्वलन तथा आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
धार्मिक मान्यताअनुसार सोमप्रदोषका दिन दूध, दही, घ्यु, बेलपत्रलगायत सामग्रीबाट शिवको पूजा गर्ने गरिन्छ। साथै पहेँलो वस्तु वा सामग्री भगवानलाई अर्पण गरे शुभ फल प्राप्त हुने विश्वाससमेत रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन्।








Discussion about this post