सार्थक ब्यूरो । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौला रोगीको चाप बढेपछि अस्पतालले रातिको समयमा समेत डायलाइसिस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
अस्पतालमा हाल १० वटा डायलाइसिस शय्या रहेका छन्। तर दैनिक १८ देखि १९ जना बिरामीलाई नियमित डायलाइसिस सेवा दिनुपर्ने अवस्था रहेको अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टले बताउनुभयो। उहाँका अनुसार दैनिक २० देखि २५ जना बिरामी डायलाइसिसका लागि अस्पताल आउने गरेका छन्।
“बिरामीको चापअनुसार जनशक्ति, शय्या र मेसिनको व्यवस्थापन गरी सेवा सहज बनाउने प्रयास भइरहेको छ,” डा. भट्टले भन्नुभयो, “जनशक्तिलगायत आवश्यक संरचना विस्तारका लागि माथिल्लो निकायसँग छलफल भइरहेको छ।”
हाल अस्पतालमा बिहान र बेलुकी गरी दुई सिफ्टमा डायलाइसिस सेवा सञ्चालन भइरहेको छ। बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै तेस्रो अर्थात् रातिको सिफ्टसमेत सञ्चालन गर्ने तयारी भइरहेको डायलाइसिस सेवामा कार्यरत तथा सम्पर्क व्यक्ति यशोदा गिरीले बताउनुभयो।
“रातिको समयमा पनि सेवा दिने गरी आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनको काम अघि बढेको छ,” उहाँले भन्नुभयो। अस्पतालमा पालो नपाउने वा सेवा लिन नसक्ने बिरामी धनगढीलगायत अन्य स्थानमा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदका अनुसार कोरोना महामारीका बेला प्रयोग गरिएको प्रयोगशाला भवनबाट हाल डायलाइसिस सेवा सञ्चालन भइरहेको छ। आवश्यक जनशक्तिको अभावका कारण रातिको सिफ्ट सञ्चालन गर्न कठिनाइ भएको उहाँले बताउनुभयो।
“डायलाइसिसका लागि जनशक्तिको निकै अभाव छ,” साउदले भन्नुभयो, “रातिको सिफ्ट सञ्चालन गर्न प्रदेश र सङ्घीय सरकारसँग आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिरहेका छौँ।”
बिरामीको संख्या बढ्दै गए पनि अस्पतालमा डायलाइसिस मेसिन, शय्या र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था हुन नसक्दा सेवा विस्तारमा चुनौती देखिएको छ। रातिको सिफ्ट सञ्चालनमा आएपछि भने डायलाइसिसका लागि लामो समय पालो कुर्नुपर्ने र अन्यत्र जानुपर्ने बिरामीको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।








Discussion about this post