सार्थक डेस्क। लोकतन्त्रमा जनता सर्वोच्च हुन्छन्। राज्यसत्ताको वास्तविक मालिक नागरिक हुन् र जनप्रतिनिधि जनताका सेवक तथा अभिभावक हुन्। तर विडम्बना १ व्यवहारमा लोकतन्त्रको यही आधारभूत मान्यता कमजोर हुँदै गएको देखिन्छ। निर्वाचनका बेला नागरिकले आफ्नो मताधिकारलाई विवेकपूर्ण ढङ्गले प्रयोग गर्न नसक्दा जनताले मालिक बन्नुपर्ने लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि शासक र नागरिक शासित बन्ने अवस्था सिर्जना हुँदै गएको छ।
लोकतन्त्र केवल निर्वाचनमा मत खसाल्ने प्रक्रिया मात्र होइन। यो नागरिक अधिकार, कर्तव्य, जिम्मेवारी, जवाफदेहिता र सुशासनमा आधारित शासन प्रणाली हो। निर्वाचन नागरिकका लागि आफ्नो भविष्य, समाज र राष्ट्रको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर हो। तर हाम्रो निर्वाचन संस्कारलाई नियाल्दा मतको मूल्य र महत्वभन्दा जातीय सम्बन्ध, क्षेत्रीय प्रभाव, नातागोता, व्यक्तिगत स्वार्थ र क्षणिक लोभलालचले बढी प्राथमिकता पाएको देखिन्छ। रक्सी, मासु, भोजभतेर, आर्थिक प्रलोभन तथा विभिन्न आश्वासनबाट प्रभावित भएर मत प्रयोग गर्ने प्रवृत्तिले लोकतन्त्रको मर्ममाथि नै प्रहार गरिरहेको छ।
जब नागरिकले आफ्नो अमूल्य मतको मूल्य बुझ्दैनन्, तब उनीहरूले चुनेका प्रतिनिधिले पनि नागरिकको वास्तविक मूल्य र आवश्यकतालाई बुझ्न छाड्छन्। निर्वाचनका बेला हात जोडेर मत माग्नेहरू निर्वाचित भएपछि जनतासँग दूरी बढाउने, आफूलाई शासक ठान्ने र नागरिकलाई शासितका रूपमा व्यवहार गर्ने प्रवृत्ति देखिनु लोकतान्त्रिक संस्कारको गम्भीर कमजोरी हो। यही प्रवृत्तिले समाजमा वर्गीय विभेद, असमानता, अन्याय र निराशालाई घटाउनुको सट्टा अझ बढाउँदै लगेको छ।
वास्तवमा जनप्रतिनिधि हुनु भनेको पद, प्रतिष्ठा र सुविधाको उपभोग गर्नु होइन। यो त जनताको सुखदुःखमा साथ दिने, विकास निर्माणलाई गति दिने, न्याय र समानताको प्रत्याभूति गराउने तथा समग्र क्षेत्रको अभिभावकत्व ग्रहण गर्ने जिम्मेवारी हो। वडा, नगरपालिका, जिल्ला, प्रदेश वा संघीय तह जुनसुकै जिम्मेवारीमा पुगे पनि जनप्रतिनिधिले आफूलाई कुनै एउटा जात, वर्ग, समूह, दल वा नातागोताको प्रतिनिधिका रूपमा सीमित गर्नु हुँदैन। निर्वाचित भइसकेपछि ऊ सम्पूर्ण नागरिकको साझा प्रतिनिधि बन्न सक्नुपर्छ।
अर्कोतर्फ, नागरिकले पनि आफ्नो अधिकार प्राप्तिका लागि आफ्नो कर्तव्य पूरा गर्न उत्तिकै जिम्मेवार हुनुपर्छ। असल नेतृत्व खोज्ने तर निर्वाचनका बेला विवेक प्रयोग नगर्ने, सुशासनको अपेक्षा गर्ने तर गलत प्रवृत्तिलाई प्रोत्साहन गर्ने र विकासको चाहना राख्ने तर व्यक्तिगत स्वार्थमा मत साट्ने प्रवृत्तिले अपेक्षित परिवर्तन सम्भव हुँदैन। त्यसैले नागरिकले बुझ्नुपर्छ—एउटा गलत मतले पाँच वर्षसम्म समाजको भविष्य प्रभावित गर्न सक्छ भने एउटा विवेकपूर्ण मतले पुस्तौँसम्म सकारात्मक परिवर्तनको ढोका खोल्न सक्छ।
अबको आवश्यकता भनेको निर्वाचनलाई जात, क्षेत्र, नातागोता र क्षणिक लाभको प्रतिस्पर्धाबाट माथि उठाउनु हो। उम्मेदवारको व्यक्तिगत चरित्र, इमानदारी, क्षमता, अनुभव, दूरदृष्टि, जनसेवाप्रतिको समर्पण र जवाफदेहितालाई मूल्याङ्कन गरेर नेतृत्व चयन गर्ने संस्कार विकास गर्नुपर्छ। आफ्नो भेग, वडा, नगर, जिल्ला र प्रदेशलाई अभिभावकत्व प्रदान गर्न सक्ने सक्षम, निष्पक्ष, इमानदार र जिम्मेवार व्यक्तिलाई नेतृत्वमा पुर्याउनु आजको अपरिहार्यता हो।
त्यसैगरी, सार्वजनिक जिम्मेवारी माग्ने व्यक्तिले पनि आफ्नो समय, क्षमता र ऊर्जा जनताको सेवामा समर्पित गर्न तयार हुनुपर्छ। जनप्रतिनिधिको जिम्मेवारी कार्यालयको कुर्सीमा बसेर आदेश दिने मात्र होइन, जनताको घरदैलोमा पुग्ने, समस्या सुन्ने, समाधान खोज्ने र निर्णयप्रति जवाफदेही बन्ने हो। सार्वजनिक पदमा पुगेपछि व्यक्तिगत व्यवसाय, स्वार्थ र सुविधाभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिन सक्नुपर्छ। जिम्मेवारी माग्नेले पूरा समय जिम्मेवार बन्ने प्रतिबद्धता देखाउनुपर्छ।
लोकतन्त्रमा जनता मालिक हुन् भन्ने कुरा संविधान र भाषणमा मात्र सीमित हुनुहुँदैन, व्यवहारमा पनि स्थापित हुनुपर्छ। त्यसका लागि नागरिक सचेतना, राजनीतिक संस्कार र नेतृत्वको नैतिकता एकसाथ विकसित हुन आवश्यक छ। जनताले प्रश्न गर्नुपर्छ, प्रतिनिधिले जवाफ दिनुपर्छ। नागरिकले अधिकार खोज्नुपर्छ, आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ। नेतृत्वले सेवा गर्नुपर्छ, शासनको अहंकार देखाउनु हुँदैन।
आगामी निर्वाचनहरू हाम्रा लागि केवल प्रतिनिधि चुन्ने अवसर होइनन्, आफ्नो समाज र राष्ट्रको भविष्य बदल्ने ऐतिहासिक अवसर पनि हुन्। त्यसैले प्रत्येक नागरिकले आफ्नो मतको शक्ति पहिचान गरौँ। क्षणिक प्रलोभनमा होइन, दीर्घकालीन भविष्यलाई हेरेर निर्णय गरौँ। जात, नाता, क्षेत्र र दलगत आग्रहभन्दा माथि उठेर असल नेतृत्वको पक्षमा उभिऔँ।
अन्ततः जनता सचेत भए मात्र लोकतन्त्र बलियो हुन्छ, नागरिक विवेकी भए मात्र असल नेतृत्व स्थापित हुन्छ र जनप्रतिनिधि जिम्मेवार भए मात्र सुशासन सम्भव हुन्छ। आफूले चुनेको प्रतिनिधिलाई प्रश्न गर्न सक्ने, गलत कामको विरोध गर्न सक्ने र सही कामको समर्थन गर्न सक्ने नागरिक नै लोकतन्त्रका वास्तविक शक्ति हुन्।
अब समय आएको छ—मत बेच्ने होइन, मतको सम्मान गर्नेस व्यक्ति पूजा गर्ने होइन, योग्यताको मूल्याङ्कन गर्नेस शासक खोज्ने होइन, अभिभावक र सेवक नेतृत्व चयन गर्ने। नागरिकको विवेकपूर्ण मतबाट मात्र नागरिकको सर्वोच्चता स्थापित हुन सक्छ। त्यसैले आफ्नो मताधिकारलाई व्यक्तिगत लाभको साधन होइन, समाज र राष्ट्र निर्माणको महान् जिम्मेवारीका रूपमा प्रयोग गरौँ।
नागरिक मालिक बन्न नागरिक कर्तव्य पूरा गरौँ, नेतृत्व चयन गर्दा विवेक प्रयोग गरौँ र जनप्रतिनिधिलाई शासक होइन, जनताको सेवक तथा अभिभावक बनाऔँ। यही नै समुन्नत समाज, समानता र समृद्ध लोकतन्त्र निर्माणको वास्तविक आधार हो।








Discussion about this post