
सार्थक ब्यूरो ।आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयम्सेवक खटाइएको विकास कोषले जनाएको छ। भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ। साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
देवघाटमा घुईंचो
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ । ३३ दलीय मोर्चाको बन्द भए पनि हजारौं भक्तजनहरु देवघाट पुगेका छन् । देवघाट क्षेत्र विकास समितिले भक्तजनलाई स्नान र दर्शन गर्न सजिलो होस् भनेर विशेष प्रवन्ध मिलाएको र बेनीघाटमा स्नान गर्दा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था समेत मिलाइएको देवघाट क्षेत्र विकास समितिका सदस्य टंकनाथ पौडेलले जानकारी दिए ।
साउन महिनामा देवघाटमा रहेको कालिगण्डकी र नारायणको संगमस्थल बेनीघाटमा स्नान गरी त्यहाँको जल लगेर महादेवलाई चढाए चारधाम गएसरहको पूण्य प्राप्त हुने तथा सुख संमृद्धि मिल्ने धार्मिक विश्वास छ ।
साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । यसपालीको साउन महिनामा पाँचपटक सोमबार परेका छन् । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

















Discussion about this post