भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले काम ठप्प

सार्थक ब्यूरो । एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रका लागि भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले काम ठप्प छ।केन्द्रका लागि खोजिएको जग्गामा स्थानीय बासिन्दाको अवरोध हुन थालेपछि नगरपलिकाले जग्गाको टुङ्गो लगाउन नसक्दा काम ठप्प बन्न पुगेको हो। नगरपालिकाले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्तर्गत ६० करोडको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको योजना अघि सारेको थियो।
तर जग्गा नै नपाइएपछि बाँकी काम ठप्प हुन पुगेको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए। योजना निर्माणका लागि छनोट गरिएका स्थानमा अवरोध हुँदै आएपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अनिश्चित हुन पुगेको उनले बताए। एसियाली विकास बैंकको तीन अर्ब ऋण सहयोगअन्र्तगतको यो परियोजनामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणलाई पहिलो सर्तका रुपमा राखिएको छ।
फोहरमैला व्यवस्थापन केन्द्र निर्माणसँगै नगर क्षेत्रमा ३६ किलोमिटर ढलसहितको पक्की सडक निर्माणका योजनाको काम भने ९० प्रतिशत पुरा भएको नगरपालिकाले जनाएको छ। फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नगरपालिकाले सबै पार्टीका जिल्ला, नगर र वडासम्मका नेतासित छलफल गरिसकेको छ। नगरपालिका कार्यालयमा पटकपटक सर्वदलीय र सर्वपक्षीय छलफल गरिएका छन्।
फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नगरपालिकालाई २० बिघा जमिन चाहिने देखिएको छ। तर २० बिघा जमिन प्राप्त हुन नसकेर समस्या भइरहेको छ। क्षेत्रीय सहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरणअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अघि बढेको हो। तर एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम भने अघि बढ्न नसक्दा योजना नै गुम्ने खतरा बढेको छ।
नगरपालिका स्थापनादेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुन सकेको छैन। अहिले नगरपालिका क्षेत्रबाट दैनिक सात दशमलव २९ टन फोहर निस्कने गरेको छ। महेन्द्रनगर बजारसहित आसपासका ७ सय घरबाट फोहर सङ्कलन गरी नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ। २०३४ सालमा स्थापना गरिएको नगरपालिकामा यसअघि डम्पिङसाइट बनाउन पटक–पटक प्रयत्न गरिएको थियो।
पछिल्लो पटक आधुनिक प्रविधि सहितको केन्द्र बनाएर फोहरमैला व्यवस्थापन गर्ने योजना अघि सारिएको भएपनि जमिनको टुंगो लाग्न नसक्दा निर्माण अलपत्र परेको छ। नगरप्रमुख बोगटीले यसअघिको सरकारले जग्गा प्राप्तिका लागि प्रयास गरे पनि काम हुन नसकेको बताए।
भीमदत्त नगरपालिका वडा नम्बर ३, ७ र ९ नम्बर लगायत वडामा जमिन प्राप्तिका लागि प्रयास गरिएको भए पनि स्थानीयले दिन नमानेपछि काम अघि बढ्न नसकेको उनले बताए। ‘बजारबाट संकलित फोहर हाम्रोमा फाल्ने भन्ने सन्देश गएका कारण स्थानीयले यो योजना अघि बढ्न दिएनन्।’
‘हामीसँग राष्ट्रिय वन पनि छैन। सामुदायिक वनहरु छन्। सामुदायिक वनमा पनि समस्या नै छ। जमिन पाएपछि बजेटको समस्या त छैन, तर जमिन पाउनै मुश्किल भइरहेको छ। अहिले स्थानीयहरु पनि यसको महत्वको विषयमा विस्तारै बुझ्दैछन्। अब म फेरि सर्वदलीय बैठक राख्दैछु। यो योजना अघि बढाउने मेरो प्रयास जारी नै रहन्छ।’ एडीबी अन्तर्गत सडक निर्माणको काम भने करिब ९० प्रतिशत भइसकेको नगरप्रमुख बोगटीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित