थारु समुदायको अटवारी पर्व

–पूजा डगौरा

पश्चिम नेपालका थारु समुदायले दिदी बहिनीको दीर्घायु, सु–स्वास्थ्य र सुखमय जीवन यापनको कामना गर्दै दाजुभाईले व्रत बसेर अटवारी पर्व मनाइरहेका छन् ।
यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्च पाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीले बताए ।
नगर प्रमुख चौधरीका अनुसार अटवारी विशेष गरी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । अटवारीको तयारी शनिबारसम्ममा पूरा हुनुपर्ने थारू अगुवा पञ्चराम चौधरी बताउँछन् ।
शनिबारको राति भिन्सर्या दर भात खाने चलन छ । आइतबार पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ ।
व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् ।
अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताए । दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटवारी हो । अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’लाई लिइने गरेको उनले बताए ।
जन्माटटमि सकिएको दोस्रो आइतबारको दिन व्रत बस्ने गरिन्छ । अट्वारीका ब्रतालुहरु वा घरपरिवारले शनिबारका दिन नै तालतलैयामा माछा मार्ने घोंघी वा गँगटो आदिको जोहो गर्दछन् वा मन परेको कुनै पनि चिजको जोहो गर्दछन् । राती कुखुरा बास्नु भन्दा अगावै उठेर अधरतिया । भिन्सर्या (दर) खाने गर्दछन् । यदि खाँदाखाँदै कुखुरा बास्यो भने ब्रत भंग हुन्छ, बस्न पाउँदैनन् ।
उनीहरु २ देखि ४ बजेभित्रै सूर्यास्त अगावै आफूलाई पायक पर्ने खोलानाला, हेण्डपम्प आदिमा नुहाउँछन्, सफासुग्घर हुन्छन् र भीमको पूजा गरि यसरी देवताका लागि राखिएको अगाडिको परिकार, देवताका लागि छुट्ट्याएको अगाडिको भोजन परिकारलाई अग्राशन भनिन्छ ।
खानाको परिकारमा पुरि,फलफूल र १२ परिकार तरकारी बनाइन्छ । सबैथोक ब्रतालु र देवताका लागि राखिसकेपछि ब्रतालुहरु आगोमा सल्लाको धूप चढाउँछन् । त्यसपछि तयार भएका सेवन गरिने सबै परिकारहरु आगोमा अलिअलि गरी चढाउँछन् । सफा जल चढाउँछन् र देवताका लागि छुट्याइएको अग्राशन अलिकति पर सार्छन् । सार्नुको मतलव भीमलाई सुम्पनु, खानका लागि बोलाउनु हो । यसरी अग्राशन सारीसकेपछि ब्रतालुहरु सेवन गर्छन् ।
थारु समुदायमा ब्रत उपवास बस्दाखेरी छुट्याइने अग्राशन चेलीबेटीलाई दिने गरिन्छ । यसको ठूलो महत्व छ । अग्राशन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ मनले सोंचेको कुरा पूरा हुन्छ भन्ने मान्यता अहिले पनि तीर्थालु, ब्रतालुमा छ । त्यसैले तीर्थ गएकाहरु प्रसाद लिएर आएका हुन्छन् र प्रसाद वरिपरी वितरण गर्दछन्, जसको अवमूल्यन कसैले गर्दैन । गर्नु हुँदैन भन्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित