औपचारिकताले मात्र देश बन्दैन

 

सार्थक ब्यूरो ।मुलुकमा अन्यौलता अस्थिरता भ्रम र भ्रामकताको स्थिति छ । नेपालीले पेटभरी खान सक्ने कुनै चिज पनि उत्पादन हुन सकेको छैन । शरिर ढाक्ने एकसरो लुगा उत्पादन गर्न सकिएको छैन । खान लगाउन समेत विदेशिकै भर पर्नु पर्ने अवस्था छ । यस कञ्चनपुर जिल्लामा मात्रै १० हजार ९ सय ११ उद्योग दर्ता छन । दर्ता रहेका झण्डै ११ हजार उद्योगले उत्पादन गर्ने हो भने देशभरी पुगाउन सकिन्थ्यो । तर त्यसो छैन ११ हजार दर्ता मध्ये १ हजार उद्योग पनि चलेको अवस्था छैन । आफ्ना विभिन्न इच्छा आकांक्षा पुरा गर्नका लागी देखासीकी र औपचारिकताका लागी मात्र दर्ता भएको पाइन्छ । त्यस्तै वाणिज्य तर्फको अवस्था छ, कञ्चनपुर जिल्लामा मात्रै १४ हजारको हाराहारीमा वाणिज्य फर्म दर्ता रहेका छन । दर्ता मध्ये आधा ७ हजार सञ्चालनमा छन । यी अर्काको सामान किनेर बेच्ने गर्दछन । पेट भरि खानका लागि उत्पादन गर्न नसके पनि आलु उत्पादक संघ, फलफूल, सागपात, कुखुरा, उखु उत्पादक संघ धेरै बनेका छन । उत्पादन संघ पनि थरि थरिका राजनीतिक दल पिच्छे पनि बनेका छन । संसारभरी मनाइने दिवस छन यहाँ नेपालमा सबै दिवस मनाइन्छन । दिवसहरुमा देखासिकी मात्र होइन औपचारिकताका लागी मात्रै मनाइने र गरिने दिवसहरु पनि छन । जनताले र संविधानले ५ वर्षका लागी परिकल्पना गरेको सरकार नौ नौं महिनामा परिवर्तन भईरहेको छ । देश नौकरशाहले चलाएको छ । जनताको सरकार भनिने महज औपचारिकतामा बनेको छ ।
भ्रष्टाचार गर्दैन र गर्न दिदैन भन्ने नारा पनि औपचारिकतामै सिमित छ । यहाँ सबै दोषी भए कसले कसलाई कारबाही गर्ने भन्ने अवस्था विद्यमान छ । सक्नेले नसक्नेमा कारवाही गर्नेको अवस्था छ । खुट्टामा चप्पल लगाएर काठमाडौं गएका व्यक्तिहरुले काठमाडौंमा घर कसरी ठड्याए भन्ने तर्फ अनुसन्धान हुने हो भने कोही पनि बच्न सक्ने अवस्था छैन । सरकारको र सरकारी सम्पत्ति जसले खाए पनि हुने भन्ने अवस्था छ । अरबौं रुपैया राजस्व नतिर्ने व्यक्तिहरु यो देशमा ठूला घराना उद्योगपति भनिने चलन छ । तीनले देशको राजनीति र सांसद पद खरिद विक्री गरेका छन । सांसद पद खरिद विक्री भएको प्रत्यक्ष देखिएको छ । राजनीतिक दलमा लागेर जनताको पक्षमा काम गरेर हुदैन राजनीतिक दलको नेतृत्वसँग पहुँच हुनुपर्ने हुन्छ । प्रजातन्त्र दिवस गणतन्त्र दिवस अथवा राष्ट्रले मनाउने पर्व दिवसहरुमा प्रभातफेरी र भाषण बाहेक केही हुदैन । उद्योग व्यापार मेला भनिन्छ । नाचगानको व्यापार गरिन्छ । कृषि मेला प्रदर्शनी हुन्छ, अन्य देशबाट ल्याएको बस्तु राखिन्छ ।
महज औपचारिकतामा चलेको हाम्रो मुलुकमा साच्चिकैको दिवस कहिले हुन्छ भन्ने प्रश्न अनुत्तरित छ । यसको उत्तर नपाएपछि नागरिक असन्तुष्ट छन । आफ्नो असन्तुष्टी प्रकट गर्ने तरिका मतका मार्फत सहज भएपनि त्यसको प्रयोग नगरि असन्तुष्टि प्रकट गर्दा असिष्टता, अमर्यादित, अभद्रता, भ्रामक, भ्रम र गाली गलौजको भाषा प्रयोग गर्नेहरु बाहबाही पाइरहेका छन । यसका ज्वलन्त उदाहरण देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीशलाई आफ्नै नागरिकले देश विदेशमा गरिरहेको अशिष्टताले स्पष्ट पारेको छ । त्यस्तो भाषा बोल्नेहरु वाहवाही पाइरहेका छन किन ? किन भने देशले देशका लागी गर्ने नेतृत्व चाही रहेका छन । महज औपचारिकताको अन्त चाही रहेका छन । दल पिच्छेका पेशागत संगठनको अन्त चाहेका छन । अनावश्यक कर्मचारीको कटौती चाहेका छन, अनुत्पादक क्षेत्रको खर्च कटौती चाहेका छन, स्वदेशमा श्रमको सम्मान चाहेका छन । भ्रष्टाचार र घुसखोरीको अन्त चाहेका छन । कामकाजी स्थायी सरकार चाहेका छन । त्यसकारण महज औपचारिकता बन्द गरेर हामीसँग जे छ त्यसको उत्पादन गरेर विक्री गर्ने वातावरण चाही रहेका बेला यो मिल्दैन त्यो मिल्दैन भनेर बसेको सरकार महज औपचारिकताका लागी बनेको हो र ? सरकारले नियमले मिल्दैन भन्न मिल्दैन । उत्पादन गर्न नियमले मिल्दैन भने नियम बनाउने जिम्मेवारी पनि सरकारको हो । त्यो पनि सरकारले गर्न मिल्दैन र सक्दैन भने यो देशको सरकार कसले चलाएको छ सरकार भनि दिनुस हामी उसैसँग आफ्नो माग राख्छौं भनि जनता कराई रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित