मेडिकल ब्यवसायी प्रसाईंको रिट खारेज

 

सार्थक ब्यूरो । बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ ।अदालतको यो निर्णयसंगै प्रसाईलाई बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ ।
बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।
कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।
प्रसाईंको अभियानका कारण ग्रामिण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाको लगानी र ऋण असुली प्रभावित हुँदै आएको थियो । वित्तिय संस्थाविरुद्ध गतिविधि गर्नका लागि प्रसाईंले समूह नै तयार गरेका थिए । आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि भने उनी अदालत पुगेका थिए ।
उच्च अदालत विराटनगर, इलाम इजलासका सूचना अधिकारी युगेनकाजी बान्तवाका अनुसार मंगलबार रिट खारेज भएको हो । ‘रिट निवेदकले विपक्षी बैंक उपर यसै निवेदनलाई उल्लिखित ऋण कर्जाको विषयलाई लिएर करारको यथावत परिपालन गराइ पाउँ भनी मुद्दा दायर गरी साधारण क्षेत्राधिकार अन्तरगत कानुनी उपचारको प्रक्रिया अवलम्बन गरिसेकको देखिएको,’ रिट खारेज गर्दै अदालतको राय किताबमा भनिएको छ, ‘‘मिति २०८०-१- १० को पत्रको प्रयोजन नै समाप्त भइसकेको देखिएकोसमेतबाट प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने विद्यमान अवस्था देखिएन ।’कुमारी बैंकको शाखा कार्यालय विर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।
सो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाउ आदेश जारी गरेको थियो । १८ पटक पेशी चढेको यो रिटको सुनुवाइ ९ पटक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित