सार्थक ब्यूरो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरूले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
मन्त्री गुरुङका अनुसार, राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार वा नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर हटाएको होइन। उनले भने, “यो मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको हो। २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकमा ६०१ जना सांसदमध्ये ५९६ जनाले राजतन्त्रको अन्त्य गर्ने निर्णय गरेका थिए।उनले शान्तिपूर्ण रूपमा क्रान्ति सम्पन्न भएकाले माओवादीको जनयुद्ध गलत भएको पुष्टि भएको जिकिर गरे। साथै, उनले माओवादीहरू “हिंसा” शब्द प्रयोग गर्न डराइरहेको भन्दै प्रश्न गरे। “जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन, त्यो कम्युनिष्ट पार्टी नै हुँदैन भन्ने माओवादी अहिले वास्तविक कम्युनिष्ट पार्टी हो कि होइनरु” भन्दै उनले प्रश्न उठाए।
मन्त्री गुरुङले नेपालका माओवादी नेताहरू उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री भए पनि अन्य मुलुकका माओवादीहरू अझै पनि संकटमा रहेको उल्लेख गरे। उनले माओवादीले क्रान्तिको नाममा गरेको हत्या, हिंसा, बर्बरता आतंकवाद भएको आरोप लगाए।
उनले भने, “सामन्तीवाद र राजतन्त्रलाई हामीले बुलेटबाट होइन, ब्यालेटबाट पराजित गरेका हौँ।” उनले माओवादीहरू अहिले संसदीय प्रणालीमा सहभागी भए पनि उनीहरूको सिद्धान्त नैतिक रूपमा सही नरहेको बताए। “माओवादीको जनयुद्धको पाप धुरीबाट कराइरहेको छ,” उनले टिप्पणी गरे।
मुलुकलाई सभ्य बनाउन असभ्य कुराहरूको नियमन आवश्यक रहेको बताउँदै उनले माओवादी आन्दोलनको औचित्य समाप्त भइसकेको तर्क गरे।
















Discussion about this post