सार्थक ब्यूरो ।शिक्षकहरुको आन्दोलनका कारण सुदुरका ६ लाख बढी विद्यार्थीको पढाई प्रभावित, विद्यालय बन्द छन्।आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका ६ लाख एक हजार बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ।सुदूरपश्चिम प्रदेशमा कक्षा १ देखि १२ सम्म पाँच लाख ३१ हजार तीन सय ८२ विद्यार्थी रहेका छन्। शिशुमा ७० हजार ६ सय १४ विद्यार्थी भर्ना भएका थिए। सुदूरपश्चिममा नयाँ शैक्षिक सत्रबाट ६ लाख एक हजार नौ सय ९६ विद्यार्थीले पढ्न पाएका छैनन्।शिक्षकहरूको काठमाडौँ केन्द्रीत आन्दोलनका कारण विद्यार्थीको पढाइ प्रभावित भएको हो।
शिक्षकहरूको शिक्षा ऐन माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलनका कारण उनीहरूको पढाइ प्रभावित भएको हो। शिक्षा विकास निर्देशनालय डोटीले नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम प्रभावित भएको बताएको छ। निर्देशनालयले गत शैक्षिक सत्रको परीक्षा फल प्रकाशन भएपनि नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम पूर्ण प्रभावित भएको बताएको हो।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको शिक्षा निर्देशनालय, डोटीका सूचना अधिकारी कृष्णबहादुर बोहराले शैक्षिक पात्रो अनुसारको काम प्रभावित भएको बताए। उनले वैशाख १ गतेदेखि १५ सम्म विद्यार्थी भर्ना गर्ने र १५ गतेबाट घर–दैलो कार्यक्रम गर्नुपर्नेमा काम प्रभावित भएको बताए। उनले भने, ‘सामुदायिक विद्यालयहरूमा भर्नाको काम चलेको छैन। शैक्षिक पात्रोमा प्रभाव परेको छ। वैशाख १ गतेदेखि १५ गतेसम्म भर्ना गर्ने र १५ गतेदेखि घर–दैलो कार्यक्रम गर्ने हो।’
सुदूरपश्चिम प्रदेशमा शिशु कक्षामा ७० हजार ६ सय १४ बालबालिका गत शैक्षिक सत्रमा भर्ना भएका थिए। प्रदेशका नौ जिल्लाका सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि ५ सम्म २ लाख २९ हजार २ सय ६९, कक्षा १ देखि ८ सम्म तीन लाख ८१ हजार ९० र कक्षा ६ देखि ८ सम्म एक लाख ५१ हजार आठ सय २१ विद्यार्थी गत शैक्षिक सत्रमा भर्ना भएका थिए। सुदूरपश्चिम प्रदेशमा गत शैक्षिक सत्रमा कक्षा १ देखि १२ सम्म पाँच लाख ३१ हजार तीन सय ८२ विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका थिए। कक्षा १२ सम्ममा सामुदायिक विद्यालयहरूमा जम्मा ६ लाख एक हजार नौ सय ९६ विद्यार्थी गत शैक्षिक सत्रमा भर्ना भएकामा उनीहरूको नयाँ शैक्षिक सत्रको अध्ययन प्रभावित भएको छ।
गत शैक्षिक सत्रमा कक्षा १२ मा भर्ना भएका ३४ हजार सात सय २५ विद्यार्थीहरूमा परीक्षामा सहभागी भएकाहरूले परीक्षा दिन पाएका छैनन्। शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ। संस्थागत विद्यालयहरूमा गत शैक्षिक सत्रमा भर्ना भएका एक लाख ९३ हजार एक सय ७७ विद्यार्थीहरूले भने अध्ययन सुरु गरेका छन्।
संस्थागत विद्यालयहरूले विद्यार्थी भर्ना गरेर अध्यापनको काम सुरु गरेका छन्। तर, सामुदायिक विद्यालयका शिक्षकहरू सुविधा केन्द्रीत ऐनको माग गर्दै आन्दोलनमा छन्।


















Discussion about this post